राजधानीमा लुटपाट गर्ने २६ पक्राउ! सेनाको विशेष सुरक्षा योजना लागू
देशभर फैलँदै गइरहेको अराजक वातावरण र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाली सेनाले बुधबारदेखि विशेष सुरक्षा प्रक्रिया लागू गरेको छ। सेनाले समुदायलाई सक्रिय सहकार्य गर्न आह्वान गर्दै, लुटपाट, आगजनी र विध्वंसकारी गतिविधि नियन्त्रणका लागि व्यापक परिचालन गरेको छ।
नेपाली सेनाको ताजा अपडेटअनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउ परेका छन्। तीमध्ये ५ जना बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्। बाँकी २१ जनालाई राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात, बौद्धलगायत क्षेत्रका लुटपाट घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिइएको छ।
सुरक्षाको चाप बढेसँगै सेनाले चार महत्त्वपूर्ण सन्देश पनि सार्वजनिक गरेको छ। पहिलो, नागरिकलाई कुनै पनि अराजक गतिविधि वा विध्वंसात्मक घटनाबारे तुरुन्त जानकारी दिन सेनाको मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। दोस्रो, सुरक्षाकर्मीहरू पुग्नुअघि स्थानीय बस्तीहरूले एकजुट भई निगरानी बढाउन र सही सूचना आदानप्रदान गर्न सेनाले अपिल गरेको छ। तेस्रो, सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक र अतिरञ्जित सूचनाप्रति सचेत रहन र केवल प्रमाणित सूचना प्रयोग गर्न नागरिकलाई अनुरोध गरिएको छ। चौथो, सेनासहित अन्य सुरक्षा निकाय चौबीसै घण्टा सुरक्षामा खटिएको र परिस्थिति नियन्त्रणमा ल्याउन उच्च सतर्कतामा रहेको जनाइएको छ।
विगत केही दिनयता राजधानीलगायत देशका प्रमुख शहरहरूमा देखिएको तोडफोड, लुटपाट र आगजनीका घटनाले सुरक्षा अवस्था जटिल बन्दै गएको छ। यही कारण सेनाले नागरिक सचेतना, सामुदायिक एकता र समयमै सूचना प्रवाहलाई प्राथमिकतामा राख्दै विशेष सुरक्षा योजना अघि सारेको हो।
नेपाली सेनाले नागरिक र समुदायबीचको सहकार्यलाई “सुरक्षा स्थायित्वको आधार” भन्दै, सचेत निगरानी र सही सूचनाको प्रवाहले नै शान्ति र कानुनी शासनलाई सबल बनाउने विश्वास व्यक्त गरेको छ।