कला साहित्य

भाइरल भिडियोमा नुबाकोटे बाहुनको छोरो: धर्म, नीति र जीवनका कुरा

भाइरल भिडियोमा नुबाकोटे बाहुनको छोरो: धर्म, नीति र जीवनका कुरा

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ। भिडियोमा एक व्यक्ति कपाल फुलेको, गाढा नीलो र सेतो रंगको शर्ट, माथि सेतो हाफ ज्याकेट र गाढा रंगको प्यान्टमा देखिन्छन्। उनी आफु नुबाकोटे बाहुनको छोरो भएको बताउँछन्। भिडियो ४ मिनेट ३८ सेकेन्ड लामो छ, जसमा उनी आफ्ना विचार व्यक्त गर्दैछन् र केही मानिसहरूले उनीलाई ध्यानपूर्वक सुनिरहेका छन्।

उनको मोनोलोग यसरी सुरु हुन्छ: 

“कसैले बदमासी गरेको छ र न्याय गर्ने ठाउँमा नजानू। हजुर नि हुनुहुन्थ्यो भने भने नि! (केहीबेर मौन)। यसको अर्थ थियो, पछि विवाद भयो भने कुनै पक्षलाई अन्याय भयो भन्ने आरोप लागे, आफू पनि विवादमा परिन्छ। अब बुझ्नूस्," भन्दै कुरा मोडे।

"दान दाहिने हातले गरेको बायाँ हातले थाहा पाउनु हुँदैन। तपाईँले दान गरेर सिलापत्र राख्नुभयो भने ५४ ढोका एकैपटक खुल्छ, नर्कको। 

फलानोको छोरो भने कसैले चिन्दैन, मेरो गाउँमा, पण्डितको छोरो भने सबैले चिन्छन्। दान भयो हैन त। दान मान ... अपमान। संस्कृतमा श्लोक नै छ:

श्लोक: आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमैथुनभेषजम् ।
दानामानापमानं च नवैतानि सुगोपयेत् ।।

(अर्थात् आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषध यी नौ कुरालाई हरहमेशा गोप्य राख्नुपर्छ।) यो सबै लुकेर गर्ने काम हो।”

उनले अगाडि भने, “सत्यनारायणको पूजा लगाएर प्रसाद लिएर छिमेककोमा जाने हो। अरुले खाएन भने नखानेलाई पाप लाग्छ। तपाईँलाई धर्म हुन्छ। खाए दुबैलाई धर्म हुन्छ। सत्यनारायणको पूजा गर्दा मान्छेलाई निम्तो गर्ने चलन छ। निम्तो गरेर भोको राखेको पाप व्यहोर्नुपर्छ। आएर नआए उसलाई पाप लाग्छ। त्यसैले अफ्ट्यारो पर्छ।”

उनले थपे, “हामी नुबाकोट वरिपरिको १२ जिल्लाको मान्छेले त पाहुना खुबाएकै छैन, त्यसैले हामी दरिद्र भएका हौँ। पाहुना भनेको सोधेर खुवाउने होइन। अपरिचितलाई बोलाएर, खुवाएर बिदा गर्नु पर्छ। नाम, थर, गोत्र पनि सोध्नु हुँदैन। त्यसरी खुवाएको मात्र पाहुना हो। आफन्तलाई बोलाएर खुवाएको पाहुना होइन।”

त्यसपछि उनले पञ्चायतकालीन कथा सुनाउन थाले। धर्मकर्मका कुरा सकिएपछि उनले राजनीतिक कुरा गर्न थाले। 


 शुक्रनीतिका ९ गोप्य कुरा

देवताका गुरु बृहस्पति र दैत्यका गुरु शुक्राचार्य हुन्। शुक्राचार्य भृगु ऋषिका पुत्र हुन्, जसले गुरु अंगिरसलाई छाडेर भगवान् शिवसँग शिक्षा लिए। शिवले उनलाई शास्त्र र शस्त्रको विद्या प्रदान गरे। समुद्र मन्थनपछि देवताहरूले अमृत छलपूर्वक आफूले पिएपछि, शिवले शुक्राचार्यलाई मृतसञ्जीवनी विद्या प्रदान गरे, जसले मरेकालाई जीवित बनाउन सकिन्थ्यो। शुक्राचार्य दैत्यका महान् नीतिकार हुन् र उनले शुक्रनीति नामक शास्त्र लेखे।

1. आयु (उमेर)
   आफ्नो उमेरको जानकारी अरुलाई दिनु हुँदैन। शत्रुले आयु थाहा पाए भने उपयुक्त अवसर पर्खेर नोक्सान पुर्‍याउन सक्छन्।

2. धन (सम्पत्ति)
   आफ्नो सम्पत्तिको जानकारी थोरै मानिसलाई मात्र दिनुपर्छ। धनको बारेमा अरुले थाहा पायो भने गलत मनसायका मानिसले फाइदा उठाउन सक्छन्।

3. गृह (घरको रहस्य):
   घरको वास्तुदोष र अन्य व्यक्तिगत कुराहरु गोप्य राख्नुपर्छ। अरुले थाहा पाए भने विरोधीले अनुचित लाभ उठाउन सक्छन्।

4. मन्त्र (गुरुमन्त्र):
   पूजा र जपको मन्त्र गुप्त राख्नुपर्छ। मन्त्र गोप्य राख्नाले मात्रै भगवानको कृपा प्राप्त हुन्छ।

5. मैथुन (यौनजीवन):
   यौनजीवनका कुरा गोप्य राख्नुपर्छ। तेस्रो व्यक्तिले थाहा पायो भने नाजायज फाइदा उठाउन सक्छ।

6. दान:
   दान गोप्य राख्नुपर्छ। देखावटी दान गर्दा पुण्य नष्ट हुन्छ।

7. मान (सम्मान):
   आफ्नो सम्मान देखावटी रुपमा अरुलाई देखाउनु हुँदैन। यसले अरुमा घृणाभाव पैदा गर्न सक्छ।

8. अपमान:
   आफूलाई भएको अपमानको कुरा अरुलाई भन्नु हुँदैन। अरुले थाहा पाए भने थप नोक्सान पुर्‍याउन सक्छन्।

9. औषध (चिकित्सा):
   आफ्नो डाक्टर र औषधिको जानकारी गोप्य राख्नुपर्छ। शत्रुले थाहा पाए भने तिनीहरुसँग सम्पर्क गरेर हानि पुर्‍याउन सक्छन्।


मानिसहरूले उनको कुरा ध्यान दिएर सुनेको देखिन्छ। सामाजिक सञ्जालमा धेरैले उक्त भिडियो पोस्ट, रि-पोस्ट, सेयर, लाइक गरेको देखिन्छ। यो स्थान काठमाडौंको, बिहानको बसमा यात्रा गर्दा गरिएको गफ जस्तो देखिन्छ। संसारभरिका नेपालीहरूले यो भिडियो मन पराइरहेका छन्। यसले धर्मकर्ममा मानिसहरूको रुचि अझै पनि रहेको देखाउँछ। यो सामग्री तयार पार्दासम्म उनको वास्तविक परिचय खुलेको छैन। कसैले थाहा पाउनु भए कमेन्ट गरिदिनु होला।