बिहे भएको छैन, कुमार पनि होइन म... अर्थ के हो? दीपक-दीपाको फिल्म फ्लप होस्!
समीक्षा खरेल
छक्का पन्जा ५ को प्रशंसा गर्न त केहि बाँकी नै छैन! कस्तो सृजनात्मकता, कस्तो गहिरो कथा, अनि कस्तो रमाइलो संवादहरू! फिल्मको हरेक संवादले २१औं शताब्दीको ‘उन्नत’ सोचको परिचय दिन्छ। महिलाहरूलाई सराप्ने, प्रेमीहरूलाई गलहत्याउने, अनि जीवनलाई सदासर्वदा आँसु र त्रासदीमा डुबाउने 'महान' सन्देश दिने फिल्ममा ठट्टा नै ठट्टाको बाढी छ। अझ, कुमार र कुमारिको परिभाषालाई जस्तो सहजता र अद्भुत 'तर्क'ले परिवर्तन गरिएको छ, यो त नेपाली साहित्यमा पनि नयाँ आयामको सुरुवात होला जस्तो लाग्यो। फिल्म त पक्कै सुपरहिट हुने हो! आखिर, दीपक राज गिरी, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा सिवाकोटीले अभिनय गरेका अनि दीपाश्री निरौलाको निर्देशनमा बनेको यस्तो ‘दर्शक-मूर्खताले’ भरिएको ‘चमत्कारिक’ कामलाई कसले मन नपराउला?
छक्का पन्जा ५ को ब्रेकअप गीतको चर्चा निकै व्यापक छ। उत्सुकताले युट्युबमा खोज्दा करिब ७ वर्ष पुरानो हिन्दी ब्रेकअप गीत भेटियो। हिन्दी गीत सुन्दा रमाइलो लाग्यो, साथै स्क्रिप्टका शब्दहरू पनि राम्रै छनोट गरिएका थिए। गीतको ४६२ मिलियन भ्युज देखेर झन् चकित भएँ। तर यो त छक्का पन्जाको गीत नै रहेनछ। जब छक्का पन्जा ५ को ब्रेकअप गीत सुन्न थालेँ, सुरुमै यस्तो संवाद सुनियो, "एकछिन, तपाईं यहाँ इन्गेजमेन्ट गर्दै हुनुहुन्छ, तपाईंको इन्गेजमेन्टको खबरले तपाईंको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।" जवाफमा फेरि यस्तो संवाद आउँछ, "कुन चाहिँ एक्स?"
गीत त रमाइलो नै छ, तर स्क्रिप्टको शब्द छनोट चित्त बुझ्दो लागेन। जस्तै, पुरुष पात्रले महिलाले सपिङ्गमा खर्चिएको पैसा फिर्ता गर्न माग गर्छ, र महिलालाई "चाल त्रिताले" भनिन्छ। पुरुष पात्र महिलालाई सराप्न पुग्छ, "सम्पतिको 'स' नभएको भिखारीले पाओस्, जुत्ता हान्ने खुट्टा मर्कियोस्, पिठ्यु देखाउने ढाड सरिकियोस्, रुपको खेति धमिराले खाओस्, र छोडेर जाने महिला पात्रको आँखा पड्कियोस्।" यस्ता सरापहरूले मानौं दर्शकको मनोरञ्जनभन्दा नेपाली फिल्म उद्योगलाई नै नयाँ उचाइमा पुर्याइरहेका छन्।
सिनेमामा महिला पात्रको कुनै पुरुषसँग पुलामाला (इन्गेजमेन्ट) हुन्छ, तर जससँग पुलामाला हुन लागेको हो, उसले लगाएको माला निकाल्छ। यसपछि, सराप्ने पुरुष पात्रले आफ्नो प्रेम कहानीको व्याख्या गर्दै महिलालाई "सोझी घुसघुसे स्याल" भन्छ र आफूले धोका पाएको बताउँछ।
महिला पात्रलाई निष्ठुरी प्रेमी मिलोस् र उनको मायाप्रेम गोलखाडिमा डुबोस् भन्ने सराप लगाइन्छ। गीत हेर्दा, महिला पात्र पुरुष पात्रको ताण्डवले आजित भएको देखिन्छ, मानौं कि उनी अब सबै सहन नसक्ने अवस्थामा पुगेकी छिन्। तर आजित भएकी महिला पात्र पनि के कम? उनले जवाफ फर्काउँछिन्। पुरुष 'तिर्ताले' भए पनि, पैसा फिर्ता गर्न तयार देखिन्छिन्, तर उनले आफ्नो जवानी फिर्ता गर्नुपर्ने सर्त राख्छिन्। अन्ततः महिला पात्रले पनि सराप लगाउँछिन्, "पुरुष पात्रलाई कुनै महिलाले मन नपराओस् र उसको मुखमा किरा परोस्।"
त्यसैगरी अर्को गीतमा, "बिहे भएको छैन, कुमार पनि होइन म..." भनिन्छ। महिला पात्रले पनि भनिछन्, "बिहे भएको छैन, कुमारी पनि होइन म..."। सुन्दा रमाइलो जस्तो लागे पनि, यहाँ प्रश्न उठ्छ, यस्ता शब्दहरू नेपाली संस्कार र संस्कृति अनुरूप कत्तिको उपयुक्त हुन्छन्? यस किसिमका संवादहरू र कथा प्रवाहले नै त नेपाली समाजको वास्तविकता परावर्तन गर्ने हो र? चलचित्रको प्रस्तुति सुन्दर भए पनि यसको गहिराइ नकारात्मकताले भरिएको छ।
२१औं शताब्दीको मानव अधिकारको युगमा यस्तो भाषा प्रयोग सही हुन्छ? पक्कै पनि हुँदैन। यस युगमा त आतङ्ककारीले पनि न्याय पाउनु पर्छ भनिन्छ, तर यहाँ धोका दिने प्रेमीलाई कठोर सराप दिइन्छ—"आँखा फुटोस्, ढाड सड्कियोस्, जीवनसाथी गरिब होस्, रूप धमिराले खाओस्..."। यस्तो भाषा र मानसिकता हाम्रो समाजको मूल्य र मान्यतासँग मेल खाँदैन।
यसले अर्को गम्भीर प्रश्न उठाउँछ—के महिलाले प्रेममा धोका दिनु जायज हो? फिल्ममा महिला पात्रले धेरै पुरुषहरूसँग प्रेम गरेको देखाइएको छ, अनि ती सम्बन्धहरू स्वार्थी र छलपूर्ण रूपमा चित्रण गरिएको छ, जहाँ प्रेम मात्र किनमेलका लागि प्रयोग भएको देखिन्छ। विवाहपूर्वको सम्बन्धलाई पनि सामान्य र स्वीकार्य जस्तो देखाइएको छ, जसले नेपाली समाजको पारंपरिक मान्यता र कुमारीत्वजस्ता पवित्रता प्रतीकलाई चुनौती दिन्छ। दीपकराज जी, के कुमार र कुमारी भन्ने परिभाषा हामीले यत्तिकै बदल्न सक्छौं?
नेपाली शब्दकोश अनुसार "कुमार" र "कुमारी" का अर्थहरू यस प्रकार छन्। "कुमारी" को अर्थ: 'बाह्र वर्षसम्मकी अविवाहित कन्या, छोरी; पुत्री, पार्वती, दुर्गा अथवा भाद्र कृष्णपक्षमा यात्रा गरिने काठमाडौँकी एक देवी।' "कुमार" को अर्थ: 'पाँच वर्षसम्मको सानो बालक, विवाह नभएको केटो; अविवाहित व्यक्ति, छोरो, राजकुमार, कार्तिकेयको नाम अथवा विवाह नभएको; अविवाहित।'
यदि विवाह भएको छैन भने "कुमार" वा "कुमारी" भन्न मिल्छ। यहाँ भर्जिनिटी (कौमार्य; कन्यावस्था) अथवा पुरुष वा महिला संसर्गमा परेको/नपरेको, स्त्रीत्व, कुमारीत्व, वा पुरुषत्वको विषयमा कुरा गरिएको हो भने, विवाह अघि भएको संसर्गलाई जायज मान्न सकिन्छ भन्ने कुरा बुझाउन खोजिएको हो? यदि हो भने, के नेपाली समाजमा यसलाई जायज मान्न सकिन्छ?
यस संसारको सबैभन्दा मिठो गीत दुःखद कुराहरूको बारेमा हुन्छ भन्ने सत्य हो। बिछोडको गीत लेख्दा पनि बिछोडिने प्रेमीप्रति शुभेच्छा राख्नुपर्छ, उसको उन्नति र प्रगतिको कामना गर्नुपर्छ। गीतकारलाई थाहा थिएन होला, तर शब्दहरू चुन्ने क्रममा कसैको दुर्भावना नहोस्, कसैलाई हानि नहोस्, बरु प्रेरणा मिलोस् भन्ने पक्षमा ध्यान दिनुपर्थ्यो। त्यस्ता गीतहरूमा सफलताको कथा, सकारात्मकता र कसैलाई चोट नपर्ने भावनात्मक अभिव्यक्ति हुनु आवश्यक छ। विवाहअघि भएको यौन सम्बन्धलाई गल्तीको रूपमा बुझाउन सकिन्छ, जसले धेरै प्रकारका जोखिम निम्त्याउन सक्छ भन्ने चेतनामूलक सन्देश पनि दिन सकिन्थ्यो।
अब टेलरको कुरा गरौँ, गीतको सुरुमै धूम्रपानको दृश्य देखाइन्छ, अनि धेरैवटा प्रेम सम्बन्धलाई सामान्य जस्तो प्रस्तुत गरिन्छ। गीत र टेलरबाट फिल्म त्यस्तै खालको देखिन्छ। यो फिल्म असोज २४, फूलपातीको दिनमा रिलिज हुँदैछ।
मानौँ, गीतकारले जस्तै पत्रकारले पनि टिप्पणी गर्यो भने, हामीले धेरै कुरा भन्न सकिन्छ। दीपकराज र दीपालाई सराप्ने हो भने, छक्कापञ्जा ५ फ्लप होस्, फिल्म हेर्न कोही नजाउन, यसको प्रतिस्पर्धी फिल्म चलोस् आदि आदि। यस्तो स्क्रिप्ट लेख्नेको हात मर्कियोस्, यस्ता फिल्म बनाउनेको लगानी डुबोस्, र यस्ता कलाकार फ्लप हुन् भन्ने कुरा सजिलै भनिन्थ्यो।
तर फिल्म निर्माण टोली तथा कलाकारहरू सम्मानित छन्। उनीहरूको योगदान यस क्षेत्रमा महत्त्वपूर्ण छ, र तिनको फिल्म सुपरहिट होस् भन्ने हाम्रो पनि कामना हुनुपर्छ। कथा राम्रो होस्, विवादित कुराहरू नहोस्, र सकारात्मक सन्देश दिएको फिल्म हेर्न पाउँ।
(सूचना: हामी यस फिल्म सफल होस् र जनताको मन जित्न सफल होस् भन्ने कामना गर्छौं। यस लेखमा उल्लेखित नकारात्मक शब्दहरू केवल व्यंग्य र ठट्टा शैलीको लागि मात्र हुन्। हाम्रो कुनै नकारात्मक मनसाय छैन। -लेखक)
छक्का पन्जा ५