समाचार

रास्वपाको जादुगरी राजनीति: दिनमा तमासा, रातमा बालुवाटारमा रहस्य!

रास्वपाको जादुगरी राजनीति: दिनमा तमासा, रातमा बालुवाटारमा रहस्य!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीति पछिल्ला दिनहरूमा यस्तो तमासा र रहस्यमा ढाकिएको छ, जसलाई हेर्दा कुनै जादुगरी कथा जस्तो लाग्छ। एकातर्फ, पार्टीका उपसभापति डोलप्रसाद उर्फ डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार दिनभर सडकमा शक्तिशाली जादूगरझैं प्रदर्शन गर्छन्, पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दैछन्। अर्कोतर्फ, रात परेपछि यी दुई नेताहरू प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार छिर्छन्, मानौँ कुनै मसानघाटमा मन्त्र जप्न, टुनामुना लगाउन।

बालुवाटारको रहस्यपूर्ण रात

अस्तिको रात, जब काठमाडौंका सडकहरू सुनसान भए, अर्याल र परियार बालुवाटारतिर लागे, जसरी कुनै जादूगरले अन्धकारमा प्रवेश गर्छन्। रातको साढे ८ बजे उनीहरू प्रधानमन्त्रीसँग भेट्ने आशामा बालुवाटार छिरे। दुई घण्टाभन्दा बढी प्रतीक्षा गरेपछि रातको ११ बजे प्रधानमन्त्री ओली भेट्न तल आए। यो भेटघाटले उनीहरूको राजनीतिक "जादू" सफल होला भन्ने अपेक्षा थियो, तर प्रधानमन्त्री ओली भने आक्रोशित मुद्रामा देखिए। मन्त्र जप्ने तथा टुनामुना लगाउने काम सफल भएन।

जब ओली तल झरे, उनीहरूको नमस्कार पूरा नहुँदै, ओलीको कठोर बोलीले दुई नेतालाई झट्का दियो। "मेरो पुत्ला जलाउनु भो, सदगत गर्नु भो, अनि अब जुठो परेको थियो, कट्टो खान आउनु भो हैन?" भन्दै प्रधानमन्त्री कड्किनु भयो। यो भनाइले डिपी अर्याल र सन्तोष परियारलाई एकछिन मौन तुल्यायो, मानौं उनीहरूको जादू विफल भयो।

तर, नेताहरूले आफूलाई सम्हाल्दै भनीहाले, "प्रधानमन्त्रीज्यू, रवि लामिछानेलाई सरकारले पूर्वाग्रह देखाउँदै गरेको व्यवहार उचित होइन। यसबारे तपाईंसँग छलफल गर्न आएका हौं।" प्रधानमन्त्री ओलीको जवाफले भने उनीहरूलाई निराश तुल्यायो। "रवि लामिछानेको गिरफ्तारीमा सरकारको कुनै हात छैन। कानुनी प्रक्रिया आफ्नो बाटोमा अघि बढ्न दिनुस्। अदालतले निर्णय गर्छ, सडकमा प्रदर्शन गरेर केही हुनेवाला छैन," ओलीले स्पष्टसाथ बताए।

डिपी अर्याल र स्वर्णिम वाग्लेबीचको शक्ति संघर्ष

रवि लामिछानेको गिरफ्तारीले रास्वपाभित्र अर्को तरंग ल्याएको छ—पार्टीको कार्यवाहक सभापतिको दौड। डिपी अर्याल र डा. स्वर्णिम वाग्लेबीचको यो आन्तरिक शक्ति संघर्षले पार्टीभित्र नयाँ तनाव पैदा गरेको छ। अर्याल लामिछानेको विश्वासपात्रका रूपमा आफूलाई प्रस्तुत गर्दै पार्टीको नेतृत्वमा उक्लिन चाहन्छन् भने, वाग्ले आफ्नो बौद्धिक क्षमता र राजनीतिक अनुभवको आधारमा पार्टीको अर्को प्रमुख बन्ने तयारीमा छन्।

यो शक्ति संघर्षले रास्वपाभित्रको राजनीतिक नाटकलाई थप गम्भीर बनाएको छ, जहाँ एकातर्फ अर्यालको 'जादूगर शैली' छ भने अर्कोतर्फ वाग्लेको 'तर्कसंगत नेतृत्व'। पार्टीको भविष्य यी दुई शक्तिशाली नेताहरूको प्रतिस्पर्धामा निर्भर देखिन्छ।

लक्जरी हिरासत : रविको विशेष व्यवस्था

यसबीच, रवि लामिछाने हिरासतमा रहे पनि, उनी साधारण हिरासतमा छैनन्। प्रहरी नियन्त्रणमा भए पनि, लामिछाने एक प्रकारको 'लक्जरी कस्टडी' मा रहेका छन्, जहाँ उनलाई होटलका पाहुनाजस्तै सुविधा दिइएको छ। प्रहरी कर्मचारीहरूले होटलका वेटरझैं सेवा गरिरहेका छन्, जसले लामिछानेलाई सामान्य हिरासतको भन्दा फरक, विशेष अनुभव दिइरहेको छ।

यो 'लक्जरी हिरासत' ले लामिछानेलाई कानुनी झमेलाबाट मुक्त गराउन नसके पनि, उनलाई लामो समयसम्म आरामदायी अवस्थामा राख्न सजिलो बनाएको छ। प्रहरीहरू होटलका सेवकजस्तै प्रस्तुत भएका छन् भने हिरासत एउटा पाँचतारे होटलजस्तो देखिएको छ। यसले कानुनी प्रक्रियालाई अन्योलमा पार्ने र सरकारप्रति जनताको शंका उत्पन्न गर्ने अवस्था सिर्जना गरेको छ।

सडकमा तमासा, राजनीतिमा रहस्य

रास्वपाको पछिल्लो गतिविधि कुनै जादूगरको खेलझैं लाग्छ। दिनभर सडकमा 'तमासा' गर्दै र रातमा प्रधानमन्त्रीको ढोकामा पुगेर मसान खेल्ने यी नेताहरूको रणनीति नेपाली राजनीतिमा नयाँ कथाको सूत्रपात गर्दैछ। रविको गिरफ्तारीले पार्टीलाई मात्र होइन, देशकै राजनीतिक परिदृश्यलाई हल्लाइरहेको छ।

सबैको आआफ्नो दाउ

रवि लामिछानेलाई हिरासतबाट मुक्त गराउन रास्वपा नेताहरूले कानुनी र राजनीतिक खेलमा दाउपेच खेलिरहेका छन्, जसले रविको प्रभाव कायम राख्न सहयोग पुर्याओस्। डिपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच कार्यवाहक सभापति बन्ने दौडले पार्टीभित्र शक्ति संघर्षलाई तीव्र बनाएको छ, जहाँ दुवै जनाले आफूलाई पार्टीको भावी नेतृत्वको रूपमा स्थापित गर्ने दाउ चलाइरहेका छन्। यसैबीच, प्रधानमन्त्री केपी ओलीले रविको पार्टीलाई कमजोर पारेर आफ्नो राजनीतिक प्रभुत्व कायम राख्ने दाउ खेल्दैछन्, जसले रास्वपाको सुदृढीकरणमा अवरोध पुर्याउने सम्भावना देखिन्छ।