‘जनताको आन्दोलन’ कि ड्रग्स डिलरको फन्ड? ‘जेनजी’ मञ्च विवादमा

‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुंगानाले गरेको दाबीले देशको राजनीतिक र नैतिक वृत्तमा हलचल ल्याएको छ। उनले The Everest Hotel, Kathmandu ले आफ्नो पत्रकार सम्मेलन प्रायोजन गरेको बताएका छन् — तर त्यो होटलको स्वामित्व भारतीय नागरिक मसकुर अहमद लारीसँग जोडिएको छ, जो लागुऔषध तस्करी प्रकरणमा विवादित छन्। मिराजले १८ अक्टोबर २०२५ मा आयोजित पत्रकार सम्मेलनमार्फत ‘प्रत्यक्ष कार्यकारी शासन र विदेशस्थित नेपाली नागरिकलाई मतदान अधिकार नदिएसम्म चुनावमा भाग नलिने’ घोषणा गरे। तर, सो कार्यक्रमको खर्च र स्रोतले अहिले ‘जेनजी’ आन्दोलनकै नैतिक धरातल हल्लाएको छ।
नेपाल आजले प्राप्त गरेको आधिकारिक कोटेशनअनुसार, सो स्तरको कार्यक्रमको लागत रु. ६ देखि ७ लाख बीच पर्छ। होटलको हाइ–टी प्याकेज दर रु. २,००० + १५% कर (भ्याट र लक्जरी ट्याक्स) जोडिँदा प्रति व्यक्ति रु. २,३०० पर्छ, जसअनुसार २५० सहभागीका लागि रु. ५,७५,००० र ३०० जनाका लागि रु. ६,९०,००० पर्छ। पीए सिस्टम, ल्यापटप र प्रोजेक्टरसहितका अतिरिक्त उपकरण थपिँदा खर्च झन्डै रु. ७ लाख २० हजार नाघ्छ। यस्तो भव्य प्रेस मिट सामान्य राजनीतिक समूहका लागि अस्वाभाविक रूपमा महँगो मानिन्छ।
समस्या त्यतिमै सीमित छैन। सो होटलका मालिक मसकुर लारी, जसले वर्षौंदेखि नेपालमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए, सन् १९९७ मा जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थलमा २५० किलो ह्याशिस बरामद प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। नेपाल प्रहरीको नार्कोटिक्स कन्ट्रोल ब्युरोका अनुसार उक्त ह्याशिस काठमाडौँबाट युरोप पठाइएको थियो र अन्तर्राष्ट्रिय अनुसन्धानपछि उनलाई काठमाडौँमै पक्राउ गरिएको हो। जर्मन सरकार र जर्मन दूतावासको सहयोगमा यो मुद्दा दर्ता गरिएको थियो, जसले नेपालमा विदेशी व्यवसायिक नेटवर्क र लागुऔषध कारोबारबीचको सम्बन्धबारे गम्भीर प्रश्न उठाएको थियो।
यस्तो पृष्ठभूमि भएको व्यक्ति वा उनको होटलबाट सहयोग लिनु नैतिक दृष्टिले गम्भीर गल्ती भएको कानुनी क्षेत्रका विज्ञहरू बताउँछन्। एक कानुनविद् भन्छन्, “राजनीतिक आन्दोलनको सार पारदर्शिता हो। तर लागुऔषध काण्डमा जोडिएको विदेशी नागरिकको सहयोगमा कार्यक्रम गर्नु नैतिक दुरुपयोग हो, जसले आन्दोलनको विश्वसनीयता नै धमिल्याउँछ।”
मिराज ढुंगानाले भने सो विषयमा थप प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उनी निकट स्रोतले भने, “प्रायोजनको कुरा गलत बुझाइ हो, कार्यक्रम स्वतन्त्र सहयोगमा गरिएको थियो।” तर सार्वजनिक अभिलेख र खर्चको विवरणले त्यो दाबीमाथि प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा नागरिकहरू अहिले नैतिकताको बहस गर्दै लेखिरहेका छन्—“भ्रष्टाचार र अन्यायविरुद्धको आन्दोलन पाँचतारे होटल र विवादित प्रायोजकको साथमा किन?”
अब यो विवाद केवल मिराज ढुंगानाको व्यक्तिगत मुद्दा होइन, नयाँ पुस्ताको राजनीति कुन दिशामा जान खोज्दैछ भन्ने गम्भीर प्रश्न बनेको छ। सडकबाट सुरु भएको ‘जेनजी’ आन्दोलन अहिले पाँचतारे मञ्चमा पुग्दा यसको आत्मा हराएको छ कि पुनः परिभाषित हुँदैछ—उत्तर इतिहासले नै दिनेछ।
मिराज ढुंगाना gen z