भारत–नेपाल सांस्कृतिक महोत्सव २०८१: लुम्बिनीमा सांस्कृतिक सम्बन्धको उत्सव!
भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको दोस्रो भारत–नेपाल सांस्कृतिक महोत्सवले भारत र नेपालको सांस्कृतिक सम्बन्धलाई पुनः उजागर गरेको छ। बौद्ध धर्ममा केन्द्रित यस महोत्सवले दुवै देशको सांस्कृतिक सम्पदा र परम्पराको भव्य उत्सव मनायो।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरे। प्रदेश सभा सदस्य, बुटवल उपमहानगरका मेयर, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरूदेखि नागरिक समाजका प्रतिनिधि र वरिष्ठ भिक्षुहरूको बाक्लो उपस्थिति रह्यो।
साँझमा आयोजित सांस्कृतिक कार्यक्रममा भारत र नेपालका प्रख्यात कलाकारहरूले आफ्नो प्रस्तुति दिए। भारतकी कथक नृत्यांगना शिखा शर्माको नेतृत्वमा आएको आठ सदस्यीय समूहले बौद्ध धर्ममा आधारित कथक नृत्य प्रस्तुत गर्यो, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। नेपाली कलाकार स्वजन रघुवंशीको समूहले परम्परागत नेपाली नृत्य प्रस्तुत गर्दै महोत्सवलाई थप रौनक प्रदान गर्यो।
यस महोत्सवअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित शैक्षिक गोष्ठीले "भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा" बारे चर्चा गर्यो। भारत र नेपालका ख्यातिप्राप्त बौद्ध विद्वानहरूले ऐतिहासिक र सांस्कृतिक महत्त्वका विषयमा आफ्ना विचार प्रस्तुत गरे। त्यस्तै, कथक नृत्य समूहले रुपन्देहीको रोहिणी-३ स्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै भारतीय शास्त्रीय नृत्यबारे जानकारी गरायो।
यस महोत्सवले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउँदै जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। आयोजकहरूले भने, "यो महोत्सव दुई देशबीचको घनिष्ट सम्बन्धको प्रतीक हो, जसले सांस्कृतिक आदानप्रदान र मित्रताको नयाँ अध्याय सुरु गर्नेछ।"
काठमाडौंतर्फ महोत्सवको अर्को प्रस्तुति तयारीमा रहेको छ। लुम्बिनीको यो उत्सवले सांस्कृतिक सम्पदाको संरक्षण र प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको छ, जसले दुवै देशका नागरिकहरूलाई आफ्नो परम्परा र संस्कृतिप्रति गर्व महसुस गराएको छ।