समाचार

मेयरद्धारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

मेयरद्धारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

राजबिराज। डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले आफ्नो नीजि पोखरीमा निर्माण गराएको घाटको लागत खर्च नगरपालिकाको राजस्व खातामा फिर्ता गरेका छन्। नगरपालिकाको वडा नम्बर ८, प्रवाहा टोलस्थित रमन पोखरीमा घाट निर्माण गरिएको थियो। यसका लागि आ.ब. ०७९/८० को रु ५ लाखको बजेट विनियोजन गरिएको थियो। बजेटमध्ये रु ४ लाख ८४ हजार ७३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो।

पालिका प्रमुख मलाहले आवश्यक पर्ने जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए। तर, मन्जुरनामा गरेको जग्गा हाल बैंकमा धितोमा रहेकाले नगरपालिकालाई हालसम्म उपलब्ध गराउन सकेका थिएनन्। नीजि पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि लागत रकम नगरपालिकाको राजस्व खातामा जम्मा गरेको नगर प्रमुख मलाहले जानकारी दिए। 

उनका अनुसार घाट निर्माणमा लगानी गरिएको रु ४ लाख ८४ हजार ७३० को व्याजसहित रु ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरिएको छ। रकम जम्मा गर्दै उनले सार्वजनिक हितका लागि घाट प्रयोगमा कुनै बाधा नपु¥याउने प्रतिबद्धता समेत जनाएका छन्।