समाचार

भुटानपछि भारतबाट दोस्रो ठूलो अनुदान पाउने देश बन्यो नेपाल

भुटानपछि भारतबाट दोस्रो ठूलो अनुदान पाउने देश बन्यो नेपाल

काठमाडौं। दक्षिणी छिमेकी भारतले आर्थिक वर्ष २०२४-२५ मा नेपाललाई ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ। यो अनुदान भारतले नेपाललाई चालु आर्थिक वर्षमा दिएको अनुदानभन्दा ५० करोड भारु (८० करोड रुपैयाँ) बढी हो। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ बजेट पेश गर्दै यो सहायताबारे जानकारी दिइन्।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई ५५० करोड रुपैयाँ अनुदान छुट्याएको थियो, जसमा बजेट संशोधन क्रममा एक अर्ब रुपैयाँ थपिएको थियो। अघिल्लो आर्थिक वर्ष २०२२-२३ मा भारतले नेपाललाई ४ अर्ब ३४ करोड २७ लाख रुपैयाँ अनुदान दिएको थियो।

भारतले पाकिस्तान बाहेक सीमा स्थल तथा जल सीमा जोडिएका छिमेकीहरूलाई वर्षेनी बजेटमा अनुदान छुट्याउने गरेको छ। विशेष गरी आफ्नै सुरक्षा छाताभित्र रहेको भुटानलाई भारतले अरू छिमेकीभन्दा बढी अनुदान दिने गर्छ।

यो पटक पनि भारतीय अनुदान पाउने छिमेकीको सूचीमा भुटान नै अगाडि छ। दिल्लीले यसपटक थिम्पुलाई २० अर्ब ६८ करोड ५६ लाख रुपैयाँ अनुदान घोषणा गरेको छ। भुटानपछि धेरै अनुदान नेपालले पाएको हो।