समाचार

अन्तर्राष्ट्रिय द्वन्द्व र धार्मिक अतिवाद—बङ्गलादेश घटनाबारे नारायणकाजीले दिएका चेतावनीहरू!

अन्तर्राष्ट्रिय द्वन्द्व र धार्मिक अतिवाद—बङ्गलादेश घटनाबारे नारायणकाजीले दिएका चेतावनीहरू!

काठमाडौं: पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बङ्गलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्। केही दिनअघि बङ्गलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको विदेश पलायनसम्बन्धी घटनामा प्रतिक्रिया जनाउँदै श्रेष्ठले भनेका थिए, "बङ्गलादेशमा घटेको घटनाक्रमको सम्पूर्ण पाटापक्षबारे अहिले नै निष्कर्ष निकाल्नु हतारो हुन सक्छ।"

समय बितेसँगै शेख हसिनाको अभिव्यक्ति र अन्य घटनाक्रमहरूले बङ्गलादेशको यो घटनामा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको ठोस भूमिका रहेको स्पष्ट भएको श्रेष्ठले बताएका छन्। साथै, उनले हिन्दू अल्पसङ्ख्यक समुदायमाथि भएको निकृष्ट दुर्व्यवहार र धार्मिक अतिवादको पक्षलाई उजागर गर्दै यसप्रति सबैले सचेत हुनुपर्नेमा जोड दिएका छन्। "वैदेशिक हस्तक्षेप र धार्मिक अतिवादले नकारात्मक प्रभाव पार्न सक्छ, त्यसैले समयमै सचेत हुन जरुरी छ," उनले भने।

श्रेष्ठले जनताको भूमिका नै हरेक परिस्थितिमा निर्णायक हुने भन्दै, राज्य र सरकारले देश र जनताको पक्षमा काम नगरेमा वैदेशिक हस्तक्षेप र अतिवादी प्रवृत्तिले जनतालाई प्रयोग गर्ने खतरा रहेको बताए। उनले थपे, "सरकारको काम र निष्ठाले जनताको साथसहित राष्ट्रिय एकता कायम गर्न सक्नुपर्छ, जसले बाह्य शक्तिहरूलाई परास्त गर्न मद्दत पुर्याउँछ।" 

श्रेष्ठको धारणा अनुसार, देश र जनताप्रतिको दायित्व पूरा नगरी अन्य पक्षलाई दोष दिएर समाधान प्राप्त नहुने स्पष्ट छ। सरकारको ईमानदारिता र कामले मात्र बाह्य हस्तक्षेप र अतिवादी शक्तिहरूको प्रभावलाई रोक्न सक्छ।


नारायणकाजी श्रेष्ठ