काठमाडौंस्थित भारतीय राजदूतावासमा ७८ औं स्वतन्त्रता दिवसको उत्सव सम्पन्न
![काठमाडौंस्थित भारतीय राजदूतावासमा ७८ औं स्वतन्त्रता दिवसको उत्सव सम्पन्न](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/EditorialDesk_84/2024/08/whatsapp-image-2024-08-15-at-133120.jpeg)
काठमाडौं, श्रावण ३१ - काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा भव्य समारोह सम्पन्न भयो।
उक्त समारोहको शुभारम्भ नेपालका लागि भारतीय राजदूत महामहिमद्वारा भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी गरियो। त्यसपछि, भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको भिडियो सन्देश प्रस्तुत गरियो। राष्ट्रपतिज्यूको सन्देशमा विगत ७७ वर्षमा भारतले विभिन्न क्षेत्रमा हासिल गरेको प्रगति र स्वतन्त्रता सेनानीहरूको बलिदानको स्मरण गरिएको थियो।
समारोहको प्रमुख आकर्षण भनेको भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका परिवारजनलाई सम्मानित गरिनु रह्यो। राजदूतले मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु ५.५० करोड र कम्बल वितरण गर्नुभयो। साथै, १०७ जना मृतक सैनिकका निकटतम नातेदारहरुलाई नेरु १२.५५ करोड भुक्तानी दिइएको जानकारी गराइयो। यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत विभिन्न लाभहरू समावेश थिए।
यसै अवसरमा, राजदूतावासले नेपालका पाँच प्रदेशका २१ शैक्षिक संस्था र पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणा गर्यो, जसले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीमा पहुँच बढाउने अपेक्षा गरिएको छ।
समारोहमा दूतावासका अधिकारीहरू, उनीहरूका परिवार, नेपालमा रहेका भारतीय समुदायका सदस्यहरू तथा भारतका मित्रहरूले सहभागीता जनाएका थिए। कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीहरूले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए।
आजको कार्यक्रम दूतावासको सोसल मिडिया ह्यान्डलहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो।