समाचार

पोखरा विमानस्थलमा महाभ्रष्टाचार! मन्त्री बद्री पान्डेलाई तुरुन्तै कदम चाल्न दिइयो चेतावनी

पोखरा विमानस्थलमा महाभ्रष्टाचार! मन्त्री बद्री पान्डेलाई तुरुन्तै कदम चाल्न दिइयो चेतावनी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता र निर्माणमा भएको भ्रष्टाचारप्रति गहिरो असन्तोष व्यक्त गर्दै राष्ट्रिय एकता अभियानले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पान्डेलाई ज्ञापन पत्र बुझाउँदै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तुरुन्तै बर्खास्त गर्न माग गरेको छ। अभियानले अधिकारीको नेतृत्वमा भएको अनियमितता र असक्षमताले देशको महत्वपूर्ण परियोजनालाई गम्भीर संकटमा पुर्‍याएको आरोप लगाएको छ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा ठूला भ्रष्टाचार र प्रविधिक त्रुटिहरू भएको आरोप लगाइएको छ। विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा नआउनुमा नागरिक उड्डयन प्राधिकरणको असक्षमता मुख्य कारण रहेको पत्रमा उल्लेख छ।

ज्ञापन पत्रमा भनिएको छ, "प्रदीप अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको छ। यस असक्षमता र भ्रष्टाचारको परिणामस्वरूप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजसम्म पनि अव्यवस्थित छ। यसले पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा प्रतिकूल असर पुर्‍याएको छ।" पत्रमा विमानस्थल निर्माणको समयमा ठेकेदार कम्पनीहरूसँग मिली गुणस्तरहीन सामग्री प्रयोग गरिएको, सुरक्षा मापदण्डहरूको उपेक्षा गरिएको, र यसमा अधिकारीको प्रत्यक्ष संलग्नता रहेको ठहर गरिएको छ।

अभियानले प्रदीप अधिकारीलाई तुरुन्त बर्खास्त गर्न जोडदार माग गरेको छ। अधिकारीले ठूला प्रविधिक त्रुटिहरू बेवास्ता गर्दै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै छानबिन प्रक्रिया सम्पन्न नभएसम्म उनलाई कुनै पनि सरकारी पदमा नराख्न आग्रह गरेको छ।

ज्ञापन पत्रले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा देखिएको ढिलाइले सम्पूर्ण नेपाली जनताको गौरवमा आँच पुर्‍याएको भन्दै यसमा संलग्न सबैलाई कानुनी कारबाही गर्न स्वतन्त्र छानबिन टोली गठन गर्न माग गरेको छ। यस टोलीले विमानस्थल निर्माणका क्रममा भएका सम्पूर्ण त्रुटिहरूको विस्तृत अध्ययन गरी दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।

अभियानले महानिर्देशक अधिकारीले संसदीय छानबिन उपसमितिको सार्वजनिक सुनुवाइबाट भाग्नुले उनको अपराधबोधलाई पुष्टि गरेको बताउँदै उनको असक्षमता र भ्रष्टाचारको कारणले उनलाई पदमा राखेर सम्मान गर्न नसकिने तर्क गरेको छ। साथै, विमानस्थलको सफल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले स्पष्ट र ठोस कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

ज्ञापन पत्रमा नागरिक उड्डयन प्राधिकरणको समग्र कार्यसम्पादन सुधार गर्न आवश्यक स्रोत, साधन, र प्रविधिको पर्याप्त व्यवस्थापन गर्न सरकारलाई सुझाव दिइएको छ। विमानस्थलको भविष्यमा प्रभावकारी सञ्चालन सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने माग गर्दै, राष्ट्रिय एकता अभियानले सरकारलाई यस विषयलाई अब नजरअन्दाज गरिए कडा आन्दोलनको चेतावनी समेत दिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण परियोजना भएकोले, यसमा भएको ढिलाइ र भ्रष्टाचारको परिणामले सम्पूर्ण देशलाई असर गरिरहेको भन्दै अभियानले आवश्यक सुधार नगरेसम्म आन्दोलनलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले मागपत्र बुझाउँदै अब यस विषयलाई नजरअन्दाज गर्न नसकिने चेतावनी दिए। "हामी तुरुन्तै आवश्यक कदम चाल्न जोडदार माग गर्दछौं," उनले भने।


माननीय बद्री पान्डेज्यु,
संस्कृति, पर्यटन एवम् नागरिक उड्डयन मन्त्री ।
नेपाल सरकार, काठमांड़ौ

मिति: २०८१/०५/०५

विषय: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता र भ्रष्टाचारका सम्बन्धमा कडा कदम चाल्न माग गर्दै

आदरणीय मन्त्रीज्यू,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएका भ्रष्टाचार र यसका कारण पूर्ण रूपमा संचालनमा ढिलाई हुँदा भएको क्षतिका बारेमा गम्भीर असन्तोष र रोष प्रकट गर्दै, हामी तपाईंसमक्ष यो ज्ञापन पत्र प्रस्तुत गर्दैछौं।

विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा संचालनमा ल्याउन नसक्नु नागरिक उड्डयन प्राधिकरणको असक्षमता र भ्रष्टाचारको पराकाष्ठा हो। यो नालायकीले पोखरावासी र सम्पूर्ण नेपाली जनताको गौरवमा आँच पुर्‍याएको छ। देशको आर्थिक विकास र पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने विमानस्थल यति लामो समयसम्म अव्यवस्थित हुनु प्राधिकरणको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउँछ।

विमानस्थल निर्माणको समयमा ठेकेदार कम्पनीहरूसँग मिली प्रविधिक त्रुटिहरूलाई बेवास्ता गर्ने, कमिशनको लागि गुणस्तरहीन सामग्री प्रयोग गर्ने, र सुरक्षा मापदण्डहरूको अवमूल्यन गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अझै पनि पदमा राख्नु उहाँप्रति गरिएको लाचारीपनाको प्रमाण हो। संसदीय छानबीन उपसमितिको सार्वजनिक सुनुवाइमा उहाँ कार्यक्रमबाट भाग्नुले उहाँको अपराधबोधलाई स्पष्ट रुपमा देखाउँछ।

तसर्थ हामी तपाईंसमक्ष निम्न माग राख्न चाहन्छौं:
१. प्रदीप अधिकारीलाई तुरुन्त बर्ख़ास्त गरियोस्। उहाँको नेतृत्वले देखाएको असक्षमता र भ्रष्टाचारलाई यो पदमा राखेर सम्मान गर्न मिल्दैन।
२. विमानस्थल निर्माणमा भएका सम्पूर्ण प्रविधिक त्रुटिहरूको जिम्मा प्रदीप अधिकारीले लिनुपर्छ। ठेकेदार कम्पनीहरूसँग मिली कमिशनको लागि गरिएका अनियमितताले उहाँको अपराधी मनोवृत्ति देखाउँछ।
३. भ्रष्टाचार र त्रुटिहरूको छानबीन पूरा नभएसम्म महानिर्देशकलाई कुनै पनि सरकारी पदमा राख्न प्रतिबन्ध गरियोस्। छानबीन प्रक्रिया निष्पक्ष, स्वतन्त्र र द्रुत गतिमा गरियोस्।
४. विमानस्थलको प्रविधिक त्रुटिहरूको समाधानका लागि स्वतन्त्र अनुसन्धान टोली गठन गरियोस्, जसले वास्तविक दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याओस्।
५. विमानस्थलको भविष्यमा प्रभावकारी संचालन सुनिश्चित गर्न नागरिक उड्डयन प्राधिकरणले स्पष्ट कार्ययोजना तयार पारोस्।
६. विमानस्थलको प्रभावकारी संचालनका लागि आवश्यक स्रोत, साधन र प्रविधिको पूर्ण व्यवस्था गरियोस्।

हामी यस विषयलाई अब नजरअन्दाज गरिने छैन भन्ने स्पष्ट रूपमा मन्त्रीज्यूलाई चेतवानी दिन चाहन्छौं। आवश्यक कदम तुरुन्त चाल्न हामी जोडदार माग गर्दछौं।

धन्यवाद।

विनय यादव
केंद्रीय अध्यक्ष
राष्ट्रिय एकता अभियान