नेता बिना टुक्रिँदै Gen Z आन्दोलन : अपरिपक्व भिडन्तबीच बालेनलाई नै देशको प्रधानमन्त्री बनाउन माग

नेता बिना टुक्रिँदै Gen Z आन्दोलन : अपरिपक्व भिडन्तबीच बालेनलाई नै देशको प्रधानमन्त्री बनाउन माग

काठमाडौं । जेनजी आन्दोलनले प्रधानमन्त्री ओलीलाई पदच्युत गराएर इतिहास रच्यो, तर आन्दोलनको नेतृत्व प्रश्नमा भने युवाहरूबीच देखिएको टकरावले आन्दोलनको गौरव नै खतरामा पारेको छ । सुन्धारा र जंगीअड्डा अगाडि भएका विवादले एकै पुस्ताले देखाएको अपरिपक्वता उजागर गरिदिएको छ, जहाँ नेताविहीन आन्दोलन एकाएक ‘नेतृत्वका लागि भिडन्त’ मा परिणत भएको छ ।

देश सरकारविहीन अवस्थामा छ । सेना सक्रिय भएर युवाहरूलाई “आफ्नो लिडरको नाम दिनुहोस्” भन्दै आह्वान गरिरहेको छ, तर फरक फरक समूहले आ–आफ्ना सिफारिस अगाडि सार्दा आन्दोलन भड्किएको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र शाह, कुलमान घिसिङ र हर्क साम्पाङ जस्ता नामहरू सार्वजनिक भए पनि युवाहरूबीच सहमति बन्न नसक्नु आफैंमा असामान्य र चिन्ताजनक हो ।

विश्लेषकहरू भन्छन्—“नेता नहुने” भन्ने दाबी गरेको आन्दोलन जब निर्णयको घडीमा पुग्छ, त्यतिबेला जिम्मेवारी बोध र परिपक्वताको कमी प्रष्ट देखिन्छ । एउटै पुस्ताले सडकमा बलियो एकता देखाएको थियो, तर अन्तिम क्षणमा भएको असहमति आन्दोलनको नैतिकतामाथि प्रश्न बनेको छ ।

यस्तै घडीमा काठमाडौंका मेयर बालेन्द्र शाहको भूमिका अझै प्रष्ट देखिएको छ । आन्दोलन सुरु हुँदा नै उनले सामाजिक सञ्जालमार्फत युवाहरूलाई संयमित हुन आग्रह गरे, भावनात्मक उर्जा दिए तर आफ्नो स्वार्थका लागि अगाडि नबढ्ने प्रतिबद्धता देखाए । सेप्टेम्बर ९ को राजीनामापछि पनि उनले संयमता, जिम्मेवारी र शालीनताका सन्देश दिँदै अन्तरिम नेतृत्वका लागि सुशीला कार्कीलाई समर्थन गर्दै आफ्नो परिपक्वताको परिचय दिएका थिए ।

उनको यही व्यवहारले अहिले धेरैलाई सोच्न बाध्य बनाएको छ—यदि बालेनले आफ्नै नाम अगाडि सारे भने ? प्रतिवादीहरू समेत भन्छन्, “सबै युवाहरूबीच अहिले एक मात्र साझा अनुहार बालेन नै हुन् ।”

कार्की, कुलमान वा हर्कसँग छुट्टै लोकप्रियता छ, तर तीमध्ये कोही पनि अहिले सडकमा उभिएका सबै युवाहरूका लागि साझा नाम बन्न सकेका छैनन् । अर्कोतर्फ, बालेनको लोकप्रियता, उनको असंलग्न छवि, र आन्दोलनभर देखाएको संयमता अहिलेको सबभन्दा ठूलो आवश्यकता ठहरिएको छ ।

नेपाल अहिले नयाँ नेतृत्व खोजिरहेको छ । यस्तो अवस्थामा अपरिपक्व भिडन्तले आन्दोलनलाई कमजोर बनाइदिने खतरा छ । त्यसैले नयाँ पुस्ताले परिपक्व निर्णय गर्दै साझा र स्वीकार्य अनुहारलाई अघि सार्न जरुरी छ ।

वास्तवमा, बालेन्द्र शाहले आफूलाई दावी गरेर अगाडि सारे भने Gen Z आन्दोलन एकै दिशामा उर्लने सम्भावना बलियो छ । उनी प्रधानमन्त्री भए मात्र आन्दोलनले सुरुमा बोकेको “परिवर्तनको आशा” स्थिर राजनीतिमा परिणत हुने धेरैको धारणा छ ।

अब प्रश्न यसैमा अडिएको छ—जिम्मेवारी लिन तयार हुने कि आन्दोलनलाई फेरि अनिश्चितताको गर्तमा धकेल्ने ? युवाहरूको टकरावले देखाएको अपरिपक्वता भोलिका दिनमा इतिहासकै ठूलो अवसर गुमाउने गल्ती हुन सक्छ । यस्तो बेला, साझा नामको रूपमा बालेन शाहलाई प्रधानमन्त्री बनाउनु नै मुलुकको स्थायित्व र आन्दोलनको सफलताको साझा मार्ग देखिन्छ ।

Gen-Z

संम्बधित खबर