राजनीति

जेन जि आन्दोलनले ओलीलाई हरायो, तर देशले उनलाई खोज्दैछ!

जेन जि आन्दोलनले ओलीलाई हरायो, तर देशले उनलाई खोज्दैछ!

अपदस्त कम्युनिस्ट प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली नेपालको समकालीन राजनीतिक परिदृश्यमा एक असामान्य र विलक्षण नाम हुन्—एक यस्ता व्यक्तित्व, जसले केवल शासनको अभ्यास गरेनन्, राष्ट्रको मनोविज्ञानमा आशा, स्वाभिमान र पहिचानको पुनर्जागरण भित्र्याए। उनको नाम उच्चारण मात्रले बालकदेखि बृद्ध, महिला–पुरुष, तेस्रोलिङ्गी, शिक्षक, चिकित्सक, पुजारी, धामी, सुन्ड, मुसुन्ड, भूत, प्रेत, मसान, चुडेल—सबैको कानमा गुञ्जन्छ। राष्ट्रवादीदेखि राष्ट्रघाती, कम्युनिस्टदेखि गैर–कम्युनिस्टसम्म—सबैको शब्दकोषमा ओली नाम अनिवार्य रूपमा अंकित छ। संस्कृतका श्लोकदेखि लोककथा, कविता, चुड्किला र उखान–टुक्कासम्ममा दक्ष, वाक्‌पटु र आत्मविश्वासी यो नेता—श्रदेय, सम्माननीय पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली— ले केवल राजनीतिमा एक अध्याय लेखेनन् , बरु वक्तृत्वकला, राष्ट्रवाद र आत्मगौरवको सौन्दर्यशास्त्र पनि परिभाषित गरे।

जेन जि आन्दोलन पछि सन्सार ले उनले राजनीति बाट अबकास लिनपर्छ भनिरहेको बेला केही यस्ता कारण छन जस्को कारण उनी फेरिपनी प्रधानमन्त्री बन्न पर्दछ।  ओलि बेगर नेपालको बिकास असम्भव छ। ओलिले मात्रै सबैलाई खुसी बनाएर देसको बिकास गर्न सक्छन। ओलिले नेपालको लागि गर्नबाकी काम ५० बर्षमा पनि सकिदैन, त्यसैले उनको निम्ति संविधान सन्सोधन गरेर भएपनी रुसको जस्तै उनलाई आजिबन  कार्यकारी रास्ट्रपति बनाउन जरुरी छ उनलाई कार्यकारी भुमिकामा राख्न निम्न कारणले अत्यन्त जरुरी छ: 

कारण १: पानीजहाजको सपना — राष्ट्रिय आत्मगौरवको प्रतीक

नेपालमा समुद्र नभएर के भयो? ओलीले समुद्र खोजेनन्, तर नेपालीको आत्मविश्वासको समुद्र जगाए। उनले पानीजहाज ल्याउने उद्घोष गरेर इतिहासकै साहसिक सपना देखाए—नेपालजस्तो भू–आवेष्ठित देशमा ‘सम्भव’ शब्दको पुनर्परिभाषा गरे। उनले पानीजहाज कार्यालय स्थापना गरेर त्यो सपनाको औपचारिक यात्रा सुरु पनि गरे। तर, दुर्भाग्यवश, देशी–विदेशी साम्राज्यवादी दुष्टहरू र ओलीपछि बनेका निष्क्रिय सरकारहरूको अनिच्छा र उदासीनताले यो राष्ट्रिय परियोजना थुनियो। ती दुष्टहरूलाई पाप लागोस्! अब यो अधूरो सपना पूरा गर्नु हाम्रो पुस्ताको ऐतिहासिक जिम्मेवारी हो—किनभने ओलीको दृष्टि केवल परियोजना होइन, राष्ट्रिय गौरवको पुनर्जन्म थियो।

कारण २: घरघरमा ग्यास — आत्मनिर्भरताको क्रान्तिकारी दृष्टि
 
जहाँ धारा पुगे पनि पानी आउँदैन, त्यस्तो देशमा ओलीले घरघरमा खाना पकाउने ग्यासको पाइपलाइन पुर्‍याउने सपना देखे—यो केवल योजना होइन, ऊर्जा स्वतन्त्रताको क्रान्ति थियो। उनले नेपाली घरलाई चुल्हो र सिलिन्डरको कालखण्डबाट निकाल्दै आधुनिक युगमा प्रवेश गराउने दृढ उद्घोष गरे। तर, विदेशी प्रतिगामी शक्तिहरूको बक्रदृष्टि र स्वार्थी राजनीतिक दलहरूको षड्यन्त्रले त्यो सपना अधुरो बनाइदियो। ओली प्रधानमन्त्री बनेपछि त्यो सपना पुनर्जीवित हुनेछ—घरघरमा ग्यास बग्नेछ, युरोपजस्तै सुविधा नेपाली घरको दैलोमा आइपुग्नेछ। किनकि ओलीका सपनाहरू केवल भाषण होइनन्—ती हुन् सम्भावनाको नक्सा, जसले नेपाललाई आत्मनिर्भरताको युगमा पुर्‍याउनेछ।

कारण ३: चुक्चे रेल — पहाड फोड्ने साहस र आधुनिक नेपालको सपना

पानीजहाज र ग्यासले मात्रै कहाँ देशको सपना पूरा हुन्छ र! नेपाललाई आधुनिक विकासको पथमा उभ्याउन ओलीले ‘चुक्चे रेल’को सपना देखे—कुस्मा लगायत पहाडी भूभाग हुँदै चीनसँग जोडिने ऐतिहासिक रेलमार्ग निर्माणको उद्घोष गरे। उनले केवल रेल होइन, राष्ट्रको गतिशीलता र भविष्यको दिशानिर्देशनको कुरा गरेका थिए। तर त्यो सपना पनि विदेशी दबाब, आन्तरिक स्वार्थ र राजनीतिक षड्यन्त्रको दलदलमा थुनियो। अब समय आयो—नेपाली जनताले प्रश्न गर्नुपर्छ, किन त्यो सपना अधुरो रह्यो? पहाड फोरेर विकास ल्याउने साहस केवल ओलीसँग छ। त्यसैले, फेरि ओलीलाई सिंहदरबारमा ल्याऊँ—रेलको सपना पूरा गरौँ, गतिशील र गौरवशाली नेपाल निर्माण गरौँ।

कारण ४: ऊर्जा स्वतन्त्रता — आफ्नो पेट्रोल, आफ्नै शक्ति

 ओलीको साहसी दृष्टि नेपालको माटोमुनि लुकेका पेट्रोल खानी उत्खनन गरेर आफ्नै ऊर्जा जलाउने थियो—यो केवल आर्थिक योजना होइन, आत्मनिर्भर नेपालको घोषणापत्र थियो। उनले विदेशी निर्भरता तोड्दै, नेपाली पेट्रोलबाट नेपाली भविष्य उज्यालो पार्ने सपना देखेका थिए। यदि त्यो सपना पूरा भएको भए—विडम्बना देख्नुहोस्—जेन जि आन्दोलनका “देशभक्त युवाहरू” सिंहदरबार, सितल निवास, बालुवाटार, सर्वोच्च अदालत, नेताहरूका घर र भाटभटेनीसम्म आफ्नै देशी पेट्रोल छर्केर जलाइरहेका हुन्थे! तर त्यो आत्मनिर्भरताको बाटो पनि विदेशी षड्यन्त्र र भित्रभित्रै काम गर्ने राजनीतिक गद्दारीको सिकार बन्यो। अब समय आएको छ—ओलीले देखाएको ऊर्जा–स्वतन्त्रताको सपना पुनः जगाउने, ताकि नेपालले आफ्नो इन्धन आफ्नै हातले जलाओस्, तर अब विकासको दीप जलाउनका लागि।

 कारण ५: हिमालय पारको व्यापार — आत्मनिर्भर नेपालको भू–राजनीतिक दृष्टि

ओलीले चीनसँग व्यापार र पूर्वाधारको नयाँ युग सुरू गर्ने साहसिक दृष्टि देखाएका थिए। उनले हिमाल फोरेर रेल, सुरुङ र बाटो बनाउने सपना साँचो अर्थमा नेपाललाई बन्द मुलुकबाट विश्वव्यापी मार्गमा रूपान्तरण गर्ने योजना थियो। भारततिरको एकतर्फी निर्भरता, पेट्रोलियम पदार्थ र आयात–निर्यातको बाध्यता तोड्दै उनले चीनका नाकाहरू खुला गर्ने ऐतिहासिक उद्घोष गरे। अहिले पनि हामी संसारभरका वस्तु तीन तिर भारतले घेरिएको बाटो भएर मात्रै ल्याउन बाध्य छौं—यो निर्भरता राष्ट्रिय कमजोरी हो, जसलाई ओलीले भत्काउने आँट गरेका थिए। तर के गर्नु, दुश्मनहरूको षड्यन्त्र, विदेशी स्वार्थ, र “उनीहरूको ल संवेदनाहिनता”ले यो परियोजना रोकियो।  तर, हो—सगरमाथा ८८४८ मिटर अग्लो छ, अरू हिमाल पनि उस्तै चट्टानी छन्। त्यसैले चुनौती त छ नै, तर ओलीका सपनाहरू त्यहीँ रोकिँदैनन्। ती हिमालहरू फोरेर पनि बाटो निकाल्ने साहस केवल ओलीसँग छ। त्यसैले, फेरि उनलाई सिंहदरबारमा बिराजमान गरौँ—र, नेपाललाई हिमालय पारको व्यापारिक शक्ति बनाऔँ।

कारण ६: नक्साको रक्षा — राष्ट्रको अस्मिता जोगाउने एकमात्र शक्ति ओली

ओलि फेरि प्रधानमन्त्री बनेनन् भने, नेपालका नक्साबाट जेन जि हरुले कालापानी र लिपुलेक मेट्ने छन्—भूभाग भोजचलन नभए  पनि नक्सा त पहिचानको प्रमाण स्वोरुप छ। त्यो नक्साको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय अस्मिता जोगाउन पनि ओली अनिवार्य छन्। उनले देशको नक्सा संसद्‌मा संशोधन गरेर राष्ट्रको गर्व पुनः स्थापित गरे, जुन कार्य इतिहासमै राष्ट्रवादी साहसको प्रतिमान बनेको छ। आज जब नयाँ पुस्ता सीमाको मूल्य बिर्सँदै “भर्चुअल देशभक्ति”मा रमाइरहेछ, त्यतिबेला ओली जस्ता नेता मात्र हुन्, जो नक्साको हरेक रेखामा नेपालीपनको सास भर्न सक्छन्। त्यसैले, नेपालको सीमासँगै अस्तित्व जोगाउन, ओलीलाई पुनः सिंहदरबारमा फर्काउनु राष्ट्रको अस्तित्वसँग जोडिएको आवश्यकता हो—यो केवल राजनीति होइन, देशको आत्मा जोगाउने अभियान हो।

कारण ७: यथार्थको विडम्बना — जसले दोषलाई पनि “रणनीति”मा रूपान्तरण गर्छ

ओलीको नेतृत्वको एउटा अनौठो विशेषता यही हो—उनी असम्भवलाई सम्भव बनाउने मात्र होइन, दोषलाई पनि “दृष्टिकोण”मा रूपान्तरण गर्न जान्दछन्। देशको असंगठित प्रशासन, कमजोर कानूनी संयन्त्र र अनिश्चित अर्थतन्त्रबीच उनले भ्रष्टाचार र शक्ति–सन्तुलनलाई ‘नियन्त्रित अराजकता’को रूपमा प्रयोग गरे—राजनीतिक स्थायित्व र आर्थिक गतिशीलताको औजारझैँ।
अनैतिक कार्य भए पनि, ओलीले बुझ्थे कि कहिलेकाहीँ भ्रष्टाचार पनि अर्थतन्त्रको “इन्जिन” जस्तै हुन सक्छ। त्यसैले उनले आफ्ना नजिकका व्यक्तिहरूलाई त्यसमा संलग्न हुन दिए—७० करोडदेखि ॐ्नी, लालितानिवास, यति, गिरिबन्दुजस्ता काण्डहरू केवल भ्रष्टाचारका कथा होइनन्, सत्ताको स्वभाव बुझाउने अध्ययन सामग्री हुन्।
त्यस्तै, गुन्डागर्दी नराम्रो कुरा भए पनि, एमालेको पहिचानका रूपमा त्यसले संगठनलाई एकप्रकारको “जनसत्ता”को अस्तित्व दियो। ओलीले कहिले काहीँ गुन्डा हरुलाई  मन्त्री बनाएर,  कहिले 'चरि' जस्ता गुन्डानाईकेलाई उकासेर, त्यस शक्ति–संरचनालाई सन्तुलनमा राखे।
रामायणको युद्धपछि राक्षस जातिको अन्त्य भएको थियो। जब एमालेभित्र आदर्श र अनुशासन मर्न थाले, ओलीले राक्षस जातिको अन्त्य हुन दिएनन्। गुन्डाहरुको “संरक्षण” गरे—व्यवस्थालाई पूर्ण पतनबाट जोगाउनका लागि।
विडम्बना यही हो—भ्रष्टाचार र कठोरता दुवै अस्वीकार्य भए पनि, ती बिना नेपालको सत्ता–संरचना स्थिर रहँदैन। त्यसैले आलोचनाभित्र पनि एक कठोर यथार्थ लुकेको छ: ओलीको उपस्थितिले दोषलाई नियन्त्रणमा राख्छ, र अराजकतालाई दिशा दिन्छ।

अन्तिम कारण: स्थायित्वको प्रतीक—राष्ट्रलाई दीर्घदृष्टि दिने नेतृत्व

यदि ओलिजस्तो अनुभवी नेतृत्व पुनः सत्ता–केन्द्रमा फर्किएन भने, ती सपना—जसमा पानीजहाज, ग्यास पाइपलाइन, तेल उत्खनन, चुक्चे रेल र चीनसँगको व्यापारिक सुरुङ सबै समेटिएका छन्—फेरि पनि घोषणामात्र बनेर रहनेछन्। नेपालको राजनीतिक संस्कृतिमा स्थायित्व र दीर्घ योजनाको निरन्तरता नै सबैभन्दा ठूलो चुनौती हो, जुन ओलिले सम्भव देखाएका थिए। उनको अनुपस्थितिमा अधुरा सपनाहरू, अधुरा संरचना र अधुरो आत्मविश्वास मात्र बाँकी रहनेछ। भ्रष्टाचार, अस्थिरता र अवसरवाद पुनः संस्थागत हुने खतरा छ। त्यसैले, आज होइन भोलिका पुस्ताका लागि—अर्को सय वर्षको राष्ट्रिय दृष्टिकोण सुनिश्चित गर्न, अनुभव, दृढता र कार्यक्षमता भएको नेतृत्वको आवश्यकता छ। त्यो प्रतीक हो—खड्ग प्रसाद ओली।

सम्पादकीय सूचना:
यो सामग्रीमा लेखिएका कुरा यथार्थ वा प्रत्यक्ष अभिप्रायका रूपमा बुझ्नु हुँदैन। कृपया यसलाई रूपकात्मक अभिव्यक्ति (metaphor) र व्यङ्ग्यात्मक लेख (satire) का रूपमा मात्र ग्रहण गर्न अनुरोध छ।