समाचार प्रविधि विदेश

अस्ट्रेलियामा दुर्व्यवहार रोक्न कडा कदम

अस्ट्रेलियामा दुर्व्यवहार रोक्न कडा कदम

अस्ट्रेलियाली सरकारले प्रविधिको दुरुपयोग रोक्न नयाँ कानुनी पहल अघि बढाउने घोषणा गरेको छ। विशेषगरी बनावटी अश्लील सामग्री उत्पादन गर्ने तथा लुकीछिपी मानिसलाई पछ्याउने उपकरण वा सफ्टवेयरमाथि कडाइ गर्ने तयारी गरिएको हो।

सञ्चार मन्त्री अनिका वेल्सले औपचारिक वक्तव्यमार्फत प्रविधिको सकारात्मक पक्षलाई स्वीकार गर्दै पनि यसले व्यक्तिगत मर्यादा, गोपनीयता र मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावलाई अस्वीकार गर्न नसकिने बताउनुभयो। उहाँले बालबालिकाको सुरक्षालाई सरकारको पहिलो प्राथमिकता भएको भन्दै, “हाम्रो समाजमा प्रविधिको सकारात्मक उपयोगको प्रशस्त सम्भावना छ, तर जसले व्यक्तिको मर्यादा र सुरक्षामा प्रतिकूल असर पार्छ, त्यसको कुनै स्थान हुनु हुँदैन,” भन्नुभयो।

वेल्सका अनुसार यस्ता प्रविधि सहजै उपलब्ध भइरहेका कारण त्यसले तत्काल र दीर्घकालीन समस्या निम्त्याइरहेको छ। त्यसैले सरकारले कानुनी व्यवस्था कडाइ गर्ने निर्णय गरेको हो। यसअघि नै अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नीति घोषणा गरिसकेको छ, जुन आगामी डिसेम्बरदेखि कार्यान्वयन हुने भएको छ।

सङ्घीय सरकार अन्तर्गतको डिजिटल सुरक्षा आयोगकी प्रमुख जुली इनम्यान ग्रान्टले पछिल्ला १८ महिनामा मात्र १८ वर्षभन्दा कम उमेरका बालबालिकासँग सम्बन्धित बनावटी अश्लील तस्बिरसम्बन्धी उजुरी अघिल्ला सात वर्षको तुलनामा दोब्बर पुगेको तथ्य सार्वजनिक गर्नुभएको थियो। यसले प्रविधिको दुरुपयोग कति तीव्र रूपमा बढिरहेको छ भन्ने देखाउँछ।

अस्ट्रेलियाली सरकारको यो पहल प्रविधिलाई सुरक्षित र उत्तरदायी बनाउनतर्फको निरन्तर कदमको रूपमा हेरिएको छ। आगामी महिनाहरूमा कानुनी संरचना कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्नले सामाजिक सुरक्षा र प्राविधिक नवप्रवर्तनबीचको सन्तुलनलाई थप परिक्षण गर्ने देखिन्छ।