मेटाले नेपालमा दर्ता प्रक्रियामा औपचारिक पहल नगरेको सञ्चार मन्त्रालयको प्रष्टिकरण

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालमध्ये मेटा कम्पनीले अहिलेसम्म दर्ताका लागि औपचारिक पहल नगरेको स्पष्ट गरेको छ। मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारसँग प्रत्यक्ष सम्पर्कमा नआएको मात्र होइन, आवश्यक कागजात पेस गर्ने औपचारिक प्रक्रिया पनि सुरु भएको छैन।
ठाकुरले भन्नुभयो, “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई आवश्यक डकुमेन्ट के के चाहिन्छ त्यो त अलरेडी हाम्रो वेबसाइडमा छ।”
नेपालमा सञ्चालनमा रहेका तर अहिलेसम्म दर्ता नगरिएका सामाजिक सञ्जाल कम्पनीहरूलाई सरकारले निरन्तर दर्ता प्रक्रियामा आउन आग्रह गर्दै आएको छ। तर, मन्त्रालयका अनुसार न त मेटा र न त अन्य विदेशी सामाजिक सञ्जाल कम्पनीले औपचारिकरुपमा प्रक्रिया थालेका छन्।
नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढ्दो छ, तर नियामक निकायसँगको औपचारिक सम्बन्धको अभावले कानुनी दायित्व, कर संकलन र दुरुपयोग नियन्त्रणमा चुनौती थपिएको छ। मन्त्रालयको प्रष्टिकरणले देखाउँछ—सरकार दर्ता प्रक्रिया खुला राखे पनि, ठूलो प्रभाव भएका कम्पनीहरू अझै प्रत्यक्ष सम्पर्कमा आउन तयार छैनन्। यसले नेपालका प्रयोगकर्ताको सुरक्षा, गोपनीयता र सरकारी नियमनबीचको सन्तुलनलाई अझै जटिल बनाइरहेको छ।