पोखरा विमानस्थलमा ठुलो भ्रष्टाचार: प्राविधिक त्रुटि र भ्रष्टाचारविरुद्ध प्रदर्शन

पोखरा विमानस्थलमा ठुलो भ्रष्टाचार: प्राविधिक त्रुटि र भ्रष्टाचारविरुद्ध प्रदर्शन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ठुलो भ्रष्टाचार र प्राविधिक त्रुटिहरूले सरकार र नागरिकको ध्यान आकर्षित गरिरहेको छ। यसै सन्दर्भमा, राष्ट्रिय एकता अभियान, काठमाडौंले आज जिल्ला नागरिक उड्डयन प्राधिकरण कार्यालय, बबरमहल अगाडि विरोध प्रदर्शन आयोजना गर्यो।

प्रदर्शनमा सहभागीहरूले विमानस्थल निर्माणका क्रममा भएको आर्थिक अनियमितता र प्राविधिक त्रुटिहरूको छानबिन गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई भ्रष्टाचारीको संज्ञा दिँदै बर्खास्त गर्न माग गरे। मधेश प्रदेश सम्पर्क समितिका संयोजक बिनोद सिंहको नेतृत्वमा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष विनय यादव, केन्द्रीय सदस्य चन्द्र यादव, र स्थानीय समाजसेवीहरूको उपस्थिति थियो।

प्राविधिक त्रुटि र अन्तर्राष्ट्रिय सरोकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा इन्जिनियरिङ त्रुटि देखिएका कारण विमानस्थलको सेवा र सुरक्षामा गम्भीर चुनौतीहरू देखिएका छन्। विमानस्थलको धावनमार्गमा चर्किएको समस्या, पानीको व्यवस्थापनको अभाव, र विद्युत प्रणालीको अस्थिरताले यसको संचालनलाई प्रभाव पारेको छ। चिनियाँ कम्पनीले निर्माण गरेको यो विमानस्थलमा व्यापक भ्रष्टाचारको आरोप लागेको छ।

प्रदर्शनकारीहरूले "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर", "भ्रष्टाचारको छानबिन गर", र "महानिर्देशकलाई बर्खास्त गर" जस्ता नाराहरू लगाउँदै सरकारलाई दबाब दिएका थिए।

अन्तर्राष्ट्रिय समाचार र वित्तीय पक्ष
यो विमानस्थल निर्माणका लागि चीनले ठूलो मात्रामा ऋण दिएको थियो, जसको ब्याजदर अत्यधिक छ। प्रदर्शनकारीहरूले ऋणलाई अनुदानमा परिणत गर्न र चीनसँग कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले चिनियाँ राजदूतसँग नोटमार्फत स्पष्टीकरण माग गर्न पनि सरकारलाई आग्रह गरे।

सरकारलाई चेतावनी
कार्यक्रममा वक्ताहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सरकारलाई तुरुन्त कदम चाल्न चेतावनी दिए। "पोखरा विमानस्थललाई सञ्चालनमा ल्याउन नसक्नु सरकारको असफलता हो। यसले देशको प्रतिष्ठा र पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ," प्रदर्शनका क्रममा केन्द्रीय अध्यक्ष विनय यादवले भने।

भ्रष्टाचार र प्राविधिक त्रुटिहरू समाधानका लागि तत्काल कदम चाल्न सरकारको उदासीनता रहिरहेमा अझ ठुलो आन्दोलन हुने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।

संम्बधित खबर