श्रमिककै हातबाट भयो ‘हाङयुगका कविताहरू’ को विमोचन
सुनिता राई
सृजनशील अराजकताका अभियन्ता तथा चर्चित लेखक हाङयुग अज्ञातको नयाँ कविता सङ्ग्रह ‘हाङयुगका कविताहरू’ झापाको दमकमा औपचारिक रूपमा लोकार्पण गरिएको छ।
कविले आफ्नो नयाँ कृति प्रेसका श्रमिककै हातबाट विमोचन गर्दै लोकार्पणलाई विशेष बनाएका छन्। कार्यक्रममा बोल्दै उनले भने,
“श्रमिकहरूको सम्मानका खातिर मैले यो पुस्तक स्रस्टा अफसेट प्रेसमै विमोचन गरेको हुँ। लेखकले लेख्दैमा मात्र किताब पूर्ण हुँदैन, यसको सम्पूर्ण श्रेय प्रेसका श्रमिकहरूको हातमा पनि हुन्छ।”
अज्ञातका अनुसार, यो कदम श्रमप्रतिको सम्मान र सृजनाको यात्रामा संलग्न सबैप्रति आभार प्रकट गर्ने नयाँ ढङ्गको प्रयास हो।
सङ्ग्रहमा आन्दोलन, प्रेम, दार्शनिक चिन्तन, सामाजिक पहिचान र अस्तित्वका विविध विषयवस्तु समेटिएका छन्। करिब ९० वटा कवितासहितको कृतिको प्रकाशन अमेरिका निवासी पर्वतारोही तथा व्यवसायी जुनिता सुब्बा मिश्रले गरेकी हुन्।
इलाममा जन्मिएका कवि अज्ञात नेपाली साहित्यमा विद्रोही धारका सशक्त प्रतिनिधि मानिन्छन्।
सन् २०१५ मा प्रकाशित ‘आधा रातको ताङ्सिङ’ पछि करिब दस वर्षपछि अज्ञातको नयाँ कृति बजारमा आएको हो। हाल उनी आफ्नै माटो इलाममै कविता–खेतीमा तल्लीन छन्।