अर्थ शेयर

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सर्वसाधारणका लागि खुला, प्रति सेयर मूल्य ८२०.८० रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सर्वसाधारणका लागि खुला, प्रति सेयर मूल्य ८२०.८० रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) आज सोमबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि खुला भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको सेयरको बाँडफाँट पूरा गरेपछि आम लगानीकर्तातर्फ बिक्री प्रक्रिया सुरु गरेको हो।

सार्वजनिक निष्कासनका लागि छुट्याइएको कुल सेयरमध्ये ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। प्रति सेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद पुस ११ गतेसम्म तोकिएको छ। सो अवधिसम्म सबै सेयरमा आवेदन नपरेमा निष्कासन अवधि पुस २१ गतेसम्म थपिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय, तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।

यसअघि केयर रेटिङ नेपालले Reliance Spinning Mills Limitedलाई ‘केयर एनपी सिंगल ए माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्न पर्याप्त क्षमता रहेको संकेत गर्छ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ