पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट, पर्यटन सहकार्य विस्तार
काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मिति २०८२ पौष ३ गते पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट आयोजना गरेको छ। गण्डकी प्रदेशलाई केन्द्रमा राखिएको उक्त कार्यक्रम उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा लक्षित थियो।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै पोखरा र मुक्तिनाथ क्षेत्रलाई भारतसँग जोड्ने बढ्दो पर्यटन सहकार्यको स्वागत गर्नुभयो।
भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटी सुधारले अन्तरदेशीय पर्यटनमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथमार्फत नेपाल–भारत पर्यटन सम्भावनालाई पूर्ण उपयोग गर्न संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो।

उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले माघ मेला र उत्तर प्रदेशका पर्यटन परिपथबारे प्रस्तुति दिँदै पर्यटन नीतिका सफल अभ्यासहरू साझा गर्नुभयो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत रहेको उल्लेख गर्दै द्विपक्षीय पर्यटन प्रवर्द्धनका पहलहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रमको बीटुबी सत्रमा भारतका करिब १० र नेपालका ६० प्रतिनिधि सहभागी थिए। छलफलमा स्थलमार्ग पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु तथा साहसिक पर्यटनमा सम्भावित सहकार्यका विषयमा केन्द्रित रह्यो।