समाचार

तेस्रो मुलुकको सुपारी भारत निकासी आरोपः मन्त्रीको कार्यकक्षमा मालपानीको सक्रियता

तेस्रो मुलुकको सुपारी भारत निकासी आरोपः मन्त्रीको कार्यकक्षमा मालपानीको सक्रियता

नेपाल सरकारले विगत लामो समयदेखि मरिच, केराउ, सुपारी र खजुरजस्ता केही वस्तुहरू विभिन्न बहानामा पैठारी गर्न रोक्ने, कडाइ गर्ने तथा नियमन गर्दै आएको छ। यसको मुख्य कारण भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ। नियमन र कडाइ गरिँदा पैठारीका लागि अनुमति लिनुपर्ने व्यवस्था छ, र अनुमति लिन जाँदा ठूलो परिमाणमा घुसको चलखेल हुने गरेको बताइन्छ।

मरिच, केराउ र खजुर नेपालमै खपत हुने वस्तुहरू हुन्। तर ठूलो खेल भने सुपारीमा रहेको बताइन्छ। नेपालमा सुपारीको खपत विशेषगरी गुट्खा बनाउनका लागि हुन्छ। तर यसभन्दा पनि डरलाग्दो पाटो भारततर्फ हुने निकासी हो।

तेस्रो मुलुकबाट सुपारी नेपाल ल्याई त्यसलाई ‘नेपाली उत्पादन’ भन्दै भारत निकासी गर्ने गरिएको आरोप छ। श्रीराम टोब्याकोका मालिक कमल मालपानीले पनि सुपारी गुट्खा बनाउनका लागि आयात गर्ने र विभिन्न माध्यमबाट भारत पठाउने गरेको आरोप लाग्दै आएको छ। प्राप्त जानकारीअनुसार, आवश्यकताभन्दा बढी परिमाणमा सुपारी आयात गर्ने र नेपालमा ‘सर्टिफिकेट अफ ओरिजिन’ भएका व्यक्तिहरूमार्फत भारत पठाउने गरिएको छ।

कमल मालपानी स्वयं तथा उनका निकटका व्यक्तिहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको कार्यकक्षमा धाइरहेको बताइन्छ। कारण—सुपारी पैठारी सहज बनाइदिन दबाब दिनु। मालपानीले भन्ने गरेको उद्धरण अनुसार, ‘हामीले के गर्नुपर्छ, गर्छौं, तर पैठारी सहज बनाइदिनुपर्‍यो। उद्योगीलाई साह्रै मर्का परेको छ।’ यस अभिव्यक्तिलाई ‘कति पैसा खर्च गर्नुपर्छ, खर्च गर्छु’ भन्ने संकेतका रूपमा पनि हेरिएको छ।

सुपारी तस्करीका कारण मरिच, केराउ र खजुरका इमानदार व्यापारीहरू पनि समस्यामा परेको बताइन्छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पैठारी प्रक्रिया सहज बनाउने विषयमा सकारात्मक देखिए पनि सुपारीको व्यापक तस्करी र त्यससँग जोडिएका आरोपका कारण उनी विवादमा तानिने विषयमा चिन्तित रहेको बुझिएको छ। मरिच, केराउ र खजुरजस्ता नेपालमै खपत हुने वस्तुहरूका लागि पैठारी सहज बनाउने दबाब बढ्दै गए पनि सुपारीलाई लिएर विगतदेखि उठ्दै आएका तस्करी, गलत निकासी र लबिङका आरोपले नीतिगत निर्णयलाई संवेदनशील बनाएको छ। यही कारण पैठारी सहज बनाउने निर्णयले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नसके नयाँ विवाद निम्त्याउने आशंका मन्त्रीस्तरमै व्यक्त भइरहेको बताइन्छ।
 

तेस्रो मुलुकको सुपारी भारत निकासी आरोप