बालेनको ८ करोडको गाडीका मालिक: ‘गुट्खा किङ’ र बालकोटको भित्री सम्बन्ध पर्दाफास!
काठमाडौं — झापाको चुनावी मैदानमा बालेन शाह चढ्ने कालो रङको ल्यान्डरोभर गाडी (बागमती प्रदेश ०१ ०३३ च ४३४३) केवल यातायातको साधन मात्र नभई, नेपालको संसदीय राजनीतिमा ‘हेभीवेट’ नेताहरूलाई पाखा लगाउन रचिएको एउटा गम्भीर ‘कर्पोरेट षड्यन्त्र’ को प्रतीक बनेको छ। रुपन्देहीका विवादास्पद उद्योगपति कमलकिशोर मालपानीको स्वामित्वमा रहेको यो गाडीको प्रयोगले एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलको राजनीतिक भविष्यमाथि धावा बोल्ने ‘अघोषित गठबन्धन’ को पर्दाफास गरेको छ।
‘गुट्खा किङ’ को राजनीतिक दाउ: दुई हेभीवेटलाई निसाना
स्रोतका अनुसार, ‘गुट्खा किङ’ का रूपमा चिनिने कमलकिशोर मालपानीले बालेन शाहलाई प्रभावमा पारेर रुपन्देही–२ र झापा–५ मा नतिजा उल्ट्याउने रणनीति बुनेका छन्। काठमाडौंको मेयर छोडेर झापा–५ मा एमाले अध्यक्ष ओलीसँग भिडेका बालेनलाई मालपानीले ‘लजिस्टिक’ सहयोग गर्नुको भित्री उद्देश्य— आफ्नो व्यावसायिक साम्राज्यमाथि आँखा लगाउने वा सहयोग नगर्ने नेताहरूलाई विस्थापित गर्नु हो।
योजना यतिमै सीमित छैन। रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई हराउन मालपानीले आफ्ना व्यावसायिक साझेदार एवं नेपाली कांग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेललाई जिताउने खेल रचेका छन्। रोचक त के छ भने, कुनै समय विष्णु पौडेलले नै हिमालयन रि–इन्स्योरेन्सको लाइसेन्स र २० करोडको सेयर आफ्ना कार्यकर्तालाई पन्छाएर मालपानी समूहलाई दिलाएका थिए। आज तिनै मालपानी ‘बिचौलिया’ दीपक भट्टसँग मिलेर पौडेललाई हराउन बालेन र कांग्रेसको काँध चढिरहेको खुलेको छ।
नागरिकतादेखि कर छलीसम्म: मालपानीको संदिग्ध विगत
बालेनलाई महँगो गाडी उपहार दिने कमलकिशोर मालपानीको पृष्ठभूमि आफैंमा शंकास्पद छ। उनीमाथि भारतीय नागरिक भएर पनि छलपूर्वक नेपाली नागरिकता लिएको गम्भीर आरोप छ।
उनको कम्पनी ‘श्रीराम टोब्याको’ (गुट्खा उद्योग) ले अन्तःशुल्क छली र नक्कली स्टिकर प्रयोग गरेको मुद्दा राजस्व अनुसन्धान विभागमा विचाराधीन छ। स्रोतका अनुसार, पूर्व अर्थमन्त्री जनार्दन शर्माको पालामा करको दर हेरफेर गर्न सघाउने पूर्व नायव सुब्बा रघुनाथ घिमिरे र बिचौलिया दीपक भट्टको ‘सेटिङ’ मा यी मुद्दाहरू पेन्डिङमा राखिएका छन्। बालेन शक्तिमा आएपछि वा प्रधानमन्त्रीको दावेदार बन्दा यी फाइलहरू सधैंलाई बन्द गराउने दाउ मालपानी समूहको रहेको बताइन्छ।
काठमाडौंमा प्रतिबन्ध, भित्रभित्रै सम्झौता
बालेन र मालपानीको सम्बन्ध बाहिर देखिएजस्तो सीधा छैन। काठमाडौं महानगरपालिकाले सुरुमा मालपानीको उत्पादन ‘करेन्ट गुट्खा’ लाई प्रतिबन्ध लगाएको थियो। तर, त्यो प्रतिबन्ध लामो समय टिक्न सकेन। स्रोतका अनुसार, भित्री रूपमा ‘लेनदेन’ मिलेपछि प्रतिबन्ध फुकुवा मात्र भएन, बालेन र मालपानी समूहबीच घनिष्ठता बढ्यो।
यही घनिष्ठताको परिणाम— बालेन संरक्षक रहेको ‘लुम्बिनी फुटबल क्लब’ लाई मालपानी समूहले २ करोड रुपैयाँ सहयोग गर्यो। बाहिर ‘खेलकुद सहयोग’ भनिए पनि, यो रकम काठमाडौंमा करेन्ट र लाली चाउचाउको बजार स्थापित गराउन र गुट्खाको बाटो खोल्न दिइएको ‘नजराना’ भएको दाबी गरिएको छ।
रास्वपाभित्रको ‘ट्रोजन हर्स’ र उम्मेदवारीको खेल
मालपानीको प्रभाव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि कति गहिरो छ भन्ने कुरा रुपन्देही–२ को उम्मेदवारी प्रकरणले पुष्टि गर्छ। बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने चर्चासँगै मालपानीका छोरा निकेश रास्वपा प्रवेश गरेका थिए।
रुपन्देही–२ मा बालेनले हङकङको पीआर (PR) भएका आशिष सुवेदीलाई उम्मेदवार बनाउन निकै जोडबल गरेका थिए। स्रोतका अनुसार, यो मालपानीको डिजाइन थियो— सुवेदीलाई उम्मेदवार बनाउने, पछि उजुरी हालेर उम्मेदवारी खारेज गराउने र अन्तिममा कांग्रेसका चुन्नुप्रसाद (मालपानीका साझेदार) लाई एमालेका विष्णु पौडेलविरुद्ध एकलौटी मैदान खाली गरिदिने। तर, तल्लो तहका कार्यकर्ताको विरोधपछि सुलभ खरेलले टिकट पाए, यद्यपि यो प्रकरणले रास्वपाभित्र चरम असन्तुष्टि पैदा गरेको छ।
निष्कर्ष: परिवर्तनको नारामा कर्पोरेट स्वार्थ ‘त्रिमूर्ति इन्डस्ट्रिज’ को नाममा रहेको ८ करोडको गाडी, २ करोडको फुटबल क्लब चन्दा र कर छलीका फाइलहरू— यी सबै तथ्यले बालेन शाहको ‘वैकल्पिक राजनीति’ माथि कर्पोरेट कब्जाको संकेत गर्छ। नाता र साइनोबिनाको यो महँगो उपहारले आगामी चुनाव जनताको मतले होइन, व्यापारीको नोटले प्रभावित हुँदैछ भन्ने गम्भीर प्रश्न उब्जाएको छ।
बालेन शाह कमल मालपानी चुन्नु प्रसाद पौडेल
