समाचार

बालेनको गाडी काण्ड: सुर्ती व्यापारी 'मालपानी' रातारात यातायात व्यवसायी बनेपछि...

बालेनको गाडी काण्ड: सुर्ती व्यापारी 'मालपानी' रातारात यातायात व्यवसायी बनेपछि...

सुर्ती बेच्दाबेच्दै कहिले 'यातायात व्यवसायी' बने मालपानी? बालेनको बचाउमा भुपदेवको 'ब्लन्डर'


काठमाडौं — "भ्यागुतोलाई धार्नी पुर्‍याउन खोज्दा तराजु नै भाँचियो" भनेझैं भएको छ, काठमाडौं महानगरका पूर्व मेयर तथा हाल झापाका उम्मेदवार बालेन शाहको सचिवालयको हर्कत। ८ करोडको विलासी गाडीको स्रोत लुकाउन बालेनका ‘दाहिने हात’ मानिने स्वकीय सचिव भूपदेव शाहले दिएको स्पष्टीकरणले बालेनलाई नैतिक संकटबाट उठाएर सिधै ट्राफिक प्रहरीको ‘चेकिङ’ मा उभ्याइदिएको छ।

भूपदेवको दाबी पत्याउने हो भने, नेपालको औद्योगिक क्षेत्रमा एउटा नयाँ चमत्कार भएको मान्नुपर्छ। देशकै ठूला सुर्ती तथा गुट्खा व्यापारी कमलकिशोर मालपानीले रातारात आफ्नो पेसा परिवर्तन गरेर ‘रेन्ट–अ–कार’ (गाडी भाडामा दिने) व्यवसाय सुरु गरेछन्! होइन भने, ८ करोडको निजी (रातो नम्बर प्लेट) ल्यान्डरोभर गाडी किनेर कसले भाडामा लगाउँछ?

बचाउन खोज्दा २ हजारको चिटमा फसे बालेन

‘गल्ती भयो, सच्याउँछौं’ भनेको भए सायद विषय यति गिजोलिने थिएन। तर, सचिवालयको ‘दिउँसै रात पार्ने’ जिद्दीले ‘चालक’ बालेन शाहलाई अब कानुन उल्लंघनकर्ताको कित्तामा उभ्याएको छ।

नेपालको कानुन स्पष्ट छ— निजी प्रयोजनका लागि दर्ता भएको रातो नम्बर प्लेटको सवारी साधन भाडामा लगाउनु वा प्रयोग गर्नु दण्डनीय अपराध हो। यदि भूपदेवको ‘भाडावाला’ तर्क सत्य हो भने, झापाको सडकमा स्टेरिङ घुमाइरहेका बालेन शाहले खुलेआम कानुनको धज्जी उडाएका छन्।

ट्राफिक प्रहरीको नियम पुस्तिका पल्टाउने हो भने, निजी गाडी भाडामा प्रयोग गर्ने चालकलाई २००० रुपैयाँ जरिवाना हुन्छ र गाडीमा सवार यात्रुलाई बीच बाटोमै ओरालिन्छ। काठमाडौंको सडकमा नियम पालनाको पाठ पढाउने ‘बालेन सर’ ले अब झापामा ट्राफिकलाई २००० को चिट बुझाउलान् त?

यात्रु ओराल्नुपर्ने नैतिक मोड

रोचक पक्ष त के छ भने, २ हजार जरिवाना तिर्दैमा यो अवैध काम वैध हुँदैन। ट्राफिक नियम भन्छ— "जरिवाना तिराएर यात्रुलाई ओराल्ने गरिन्छ।"

अहिलेको परिदृश्यमा बालेन स्वयं चालकको सिटमा छन्। यदि यो गाडी भाडाकै हो भने, नैतिकताको आधारमा अब गाडीबाट ओर्लिनुपर्ने को? पछाडि बसेका सहयोगीहरू कि स्वयं उम्मेदवार बालेन?

भूपदेवको एउटा सानो झुटले बालेनलाई ‘कर्पोरेट स्वार्थ’ को आरोपबाट त बचाउन सकेन नै, उल्टै ‘अवैध सवारी चालक’ को तक्मा भिराइदियो। सुर्ती व्यापारीलाई यातायात व्यवसायी बनाउने यो कलालाई मान्नैपर्छ!

बालेन शाह कमल मालपानी भुपदेब साह
ADVERTISEMENT