समाचार

बालेनको चुनावी रथ: विवादित व्यापारी मालपानी र 'सिसिटिभी' काण्डका घिमिरेको कनेक्सन

बालेनको चुनावी रथ: विवादित व्यापारी मालपानी र 'सिसिटिभी' काण्डका घिमिरेको कनेक्सन

झापा — भुइँमान्छेको आवाज बोल्ने दाबीसहित राजनीतिमा उदाएका बालेन शाहको झापा निर्वाचन क्षेत्र नं. ५ को चुनावी अभियानले उनको वैचारिक धरातल र ‘ब्रान्ड’ माथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको ‘हेभीवेट’ प्रतिस्पर्धामा होमिएका बालेनको विलासी जीवनशैली र विवादास्पद व्यापारिक घरानासँगको उठबसले मतदातामाझ संशय पैदा गरेको छ।

आदर्श र व्यवहारबीचको विरोधाभास

कुनै समय ‘गरिबको चमेली’ बोलको र्‍याप गीत गाएर निम्न वर्गीय जनताको भावना प्रतिनिधित्व गर्ने बालेन, अहिले पूर्वी नेपालको चुनावी दौडाहामा महँगो विलासिताको प्रतीक बनेका छन्। इलाम, पाँचथर हुँदै ताप्लेजुङ र तेह्रथुम पुगेर झापा झर्दै गरेका उनी बजार मूल्य करिब २ करोडदेखि ८ करोड रुपैयाँसम्म पर्ने ‘ल्यान्डरोभर डिफेन्डर’ (बागमती प्रदेश ०१ ०३३ च ४३४३) को ‘टप भेरियन्ट’ मा सवार छन्।

सवारी साधन मात्र होइन, ३५ हजार रुपैयाँ बराबरको महँगो ‘एडिडास टेरेक्स’ ज्याकेट लगाएर प्रचारमा हिँडेको दृश्यले उनी र उनले वकालत गर्ने भनिएको ‘गरिब वर्ग’ बीचको खाडललाई उदाङ्गो पारेको छ। सामाजिक सञ्जालमा उनको यो ‘हाई–प्रोफाइल’ शैलीलाई लिएर तिखो आलोचना सुरु भएको छ।

विवादास्पद ‘कर्पोरेट’ जालो र बजेट प्रकरणको छायाँ

बालेनको विलासी यात्रा पछाडि जोडिएको आर्थिक स्रोतको पाटो अझ पेचिलो छ। स्रोतका अनुसार, उनले प्रयोग गरिरहेको उक्त महँगो गाडी ‘करेन्ट चाउचाउ’ का मालिक कमल मालपानीका छोरा नितेशको नाममा रहेको खुलेको छ।

यो सम्बन्ध किन पनि शंकास्पद छ भने, करेन्ट चाउचाउको व्यवस्थापकीय नेतृत्व (सीईओ) हालै तिनै रघुनाथ घिमिरेलाई सुम्पिएको छ, जो नेपालको प्रशासनिक इतिहासमै बदनाम पात्र मानिन्छन्। अर्थ मन्त्रालयको नायब सुब्बा हुँदा जनार्दन शर्मा अर्थमन्त्री रहँदाको समयमा मध्यरातमा करको दर हेरफेर गर्न बिचौलियालाई सघाएको र प्रमाण लुकाउन ‘मुसाले सीसीटीभीको तार काटेको’ भन्दै फुटेज गायब पारेको गम्भीर आरोप घिमिरेमाथि छ। यस्ता विवादास्पद पृष्ठभूमिका व्यक्ति जोडिएको घरानाको गाडी प्रयोग गर्नुले बालेनको सुशासनको एजेन्डालाई गिज्याइरहेको देखिन्छ।

दलिय सीमा नाघेको आर्थिक प्रायोजन

बालेनको यो ‘कर्पोरेट कनेक्सन’ को जालो फराकिलो देखिन्छ। कमल मालपानीका व्यावसायिक साझेदार तथा नेपाली कांग्रेसका उम्मेदवार चुन्नु प्रसाद पौडेलले आफूहरूले बालेनलाई मात्र नभई एमाले उपाध्यक्ष विष्णु पौडेल र कांग्रेस महामन्त्री गगन थापाजस्ता प्रभावशाली नेताहरूलाई समेत विभिन्न माध्यमबाट आर्थिक प्रायोजन (स्पोन्सर) गर्ने गरेको स्वीकारेका छन्। यसले बालेन पनि स्थापित दलका नेताहरू जस्तै ‘धनीहरूको संगत’ र ‘धनको तड्का’ मा रम्न थालेको संकेत गरेको छ।

काठमाडौंको नमिठो वास्तविकता: बेरोजगार व्यापारी र मौलाएको विकृति

यता झापामा बालेन ‘राजा–महाराजा’ शैलीमा प्रस्तुत भइरहँदा, उता उनले नेतृत्व गरेको काठमाडौं महानगरको वास्तविकता भने फरक छ। फुटपाथ सफा गर्ने नाममा साना व्यापारीहरूलाई विस्थापित गरिँदा गरिबहरूको रोजिरोटी गुमेको छ।

विडम्बनापूर्ण कुरा त के छ भने, दिनमा स्वरोजगार व्यापारी लखेटिएको रत्नपार्क र नयाँ बसपार्क क्षेत्रमा रातको समयमा भने विकृति मौलाएको छ। एजेन्टहरूमार्फत युवतीहरू खुला रूपमा यौनजन्य क्रियाकलापका लागि ग्राहक खोज्दै सडक पेटीमा जिस्किरहेको दृश्य देखिन थालेको छ। गरिबको व्यापार खोसिएर सिर्जना भएको बेरोजगारीको स्थान यस्तो सामाजिक विकृतिले लिनुले महानगरको व्यवस्थापनमाथि गम्भीर प्रश्न उब्जाएको छ।

निष्कर्ष: अहम् र आगामी बाटो

धनीहरूको संगतमा रमेका बालेनले स्थानीय पत्रकारहरूलाई ‘हैसियत नभएको’ भन्दै हेयको दृष्टिले हेर्ने गरेको गुनासो झापामा सुनिन थालेको छ। आगामी फागुन १० देखि १५ गतेसम्म पत्रकारहरूलाई ‘दर्शनभेट’ दिने योजना बनाएका बालेनको यो बदलिँदो वर्गीय चरित्र र संदिग्ध आर्थिक सम्बन्धले ओलीसँगको उनको प्रतिस्पर्धालाई कता लैजान्छ, त्यो भने हेर्न बाँकी छ। तर, एउटा कुरा निश्चित छ– हिजोको ‘विद्रोही बालेन’ र आजको ‘ल्यान्डरोभर वाला बालेन’ बीचको अन्तरलाई मतदाताले गहिरोसँग नियालिरहेका छन्।

चुन्नु प्रसाद पौडेल कमल मालपानी बालेन्द्र साह