एनआईसी एशियामा कानुनविपरीत नियुक्ति? नयाँ प्रमुख कार्यकारी अधिकृतमाथि प्रश्न उठ्यो!
काठमाडौं — एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिले नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको जनाएको छ। नियुक्ति अनुसार उनले ३० दिनभित्र पदभार सम्हाल्नेछन् भनेर बैंकसम्बद्ध स्रोतले जानकारी दियो। यो पद अघिल्ला प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको राजीनामापछि रिक्त थियो भन्ने बैंक पक्षको दाबी छ।
तर, शाक्यको नियुक्तिसँगै केन्द्रीय बैंकका अधिकारीहरूबीच संस्थागत सुशासनसम्बन्धी एकीकृत निर्देशन (इ. प्रा. निर्देशन नं. ६–०८१) को धारा २०(३) को व्याख्या र कार्यान्वयनबारे गम्भीर बहस सुरु भएको छ। उक्त धाराले स्पष्ट रूपमा “इजाजतपत्र प्राप्त ‘क’ वर्गका बैंकमा कार्यरत दोस्रो वरियताका पदाधिकारी सेवाबाट हटेपछि ६ महिना नबितेसम्म अर्को इजाजतपत्रप्राप्त संस्थामा समान प्रकृतिको पदमा नियुक्ति हुन नपाउने” व्यवस्था गरेको छ। यसले हालैसम्म अर्को वाणिज्य बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत व्यक्तिलाई सिधै अर्को बैंकमा प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय कानुनी रूपमा प्रश्न उठाउँछ कि भन्ने व्याख्यामा मतभेद छ।
राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, “गभर्नर र डेपुटी गभर्नरको धारणा बुझिन बाँकी छ। तर कुलिङ पिरियडको मर्म हेर्दा, नायव प्रमुख कार्यकारी अधिकृतबाट अर्को बैंकको प्रमुख कार्यकारी अधिकृतमा जाने प्रसङ्गमा पनि ६ महिनाको कुलिङ पिरियड लागू हुनुपर्ने हो कि भन्ने छलफल अहिले तीव्र छ।”
अघिल्ला घटनाक्रममा पनि यस्तै विवाद देखा परेका थिए। तत्कालीन मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह नबिल बैंक फर्किएपछि सोही प्रकरणले राष्ट्र बैंकलाई “कुलिङ पिरियड” व्यवस्था कडा बनाउन प्रेरित गरेको थियो। त्यसबेलादेखि प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृत दुवैका लागि नियामक रोक कायम गरिएको हो।
उद्योगभित्र केहीले भने “समान पदमा रोक, तर माथिल्लो पदमा तत्काल जाने” प्रथाले नीति–उद्देश्य कमजोर पारेको भन्दै पुनरावलोकन आवश्यक भएको दाबी गर्छन्। तर ती दाबीहरूबारे कुनै औपचारिक कागजी प्रमाण सार्वजनिक छैन। नियामक निकायले पनि यस विषयमा अझै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यही सन्दर्भमा बैंकभित्रै लेखिएको एक व्यङ्ग्यात्मक कविता अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ, जसले बैंकिङ नियमनको स्थिति र नीतिगत दोहोरोपनमाथि कटाक्ष गर्छ —
“खुकुरीभन्दा कर्दा लाग्ने,
NRB भन्दा माडबारि जान्ने,
नियम नमान्ने, जनता ठग्ने,
कर्मचारीलाई जोखिमपूर्ण काम लगाउने,
अफ्ट्यारो आएपछि (माडबारि) उम्कने!”
यस कविताले पछिल्लो नियुक्ति विवाद र नियामक मौनतालाई जनतामाझ तीव्र व्यङ्ग्यको रूपमा उजागर गरेको देखिन्छ। बैंकका अध्यक्ष तुलसीराम अग्रवालसहित उच्च व्यवस्थापनले जोखिमबाट उम्किन तल्लो तहका कर्मचारीमार्फत काम गराउने प्रवृत्ति देखाएको छ।
एनआईसी एशियाले नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्ति औपचारिक रूपमा पुष्टि गरे पनि “नियामक निर्देशन उल्लङ्घन भएको” भनिएका आरोपबारे बैंक, नबिल बैंक र नेपाल राष्ट्र बैंकका प्रवक्ताहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।
यदि राष्ट्र बैंकले सो नियुक्ति निर्देशअनुकूल छ कि छैन भन्ने व्याख्या छिट्टै सार्वजनिक गर्छ भने, यसले उच्च तहका बैंक व्यवस्थापनमा लागू हुने ‘कुलिङ पिरियड’ को सीमा र उद्देश्यबारे स्थायी नजीर बसाल्नेछ — र यही स्पष्टताले भविष्यका नियुक्तिलाई कानुनी पारदर्शितातर्फ डोर्याउने अपेक्षा गर्न सकिन्छ।
एनआईसी एशिया बैंक