कला साहित्य

मानिस आए–गए, तर ईश्वर कहिल्यै टाढा भएनन्

मानिस आए–गए, तर ईश्वर कहिल्यै टाढा भएनन्

मानिसहरू आउँछन्, मानिसहरू जान्छन्
मानिसहरू आउँछन् जीवनको यात्रामा,
कसैले हात समाएर हिँड्छन्,
कसैले बाटोमै छोडेर जान्छन्।
कसैले मनमा उज्यालो बाल्छन्,
कसैले आत्मासम्म घोच्ने अँध्यारो रोप्छन्।
कोही तिमीलाई
आफूलाई चिन्न सिकाउँछन्,
कोही तिमीलाई
मानिसको असली अनुहार देखाउँछन्।
जीवनको सबैभन्दा ठूलो पाठ
सधैँ पुस्तकबाट होइन,
मानिसबाटै सिकिन्छ।
तिमी तिमी भएर बाँच्यौ—
न मुखौटा लगायौ,
न स्वार्थको गणित सिक्यौ।
तिमीले विश्वास गर्‍यौ,
मन खोलेर अपनायौ,
तर यही साँचोपन
कतिपयलाई सह्य भएन।
सफलताको झिल्को देख्नेबित्तिकै
ईर्ष्याले भरिएका आँखाहरू
तिमीलाई तान्न थाले तल।
उनीहरूले हात मिलाए
ती मानिसहरूसँग
जो कहिल्यै तिम्रो उचाइ चाहँदैनथे,
जो तिम्रो पतनमै
आफ्नो जित देख्थे।
कतिपय सम्बन्ध
मायाबाट होइन,
आवश्यकताबाट जन्मिएका रहेछन्।
जब उनीहरूलाई केही चाहिन्थ्यो,
तिमी नै सबै थियौ।
जब चाहना पूरा भयो,
तिमी अनावश्यक भयौ।
उनीहरूले तिम्रो काँधलाई
सिँढी बनाए,
आफ्ना प्रियहरूलाई अगाडि बढाए।
तिमी पछाडि नै रह्यौ—
थाकेको मन,
भारी आत्मा,
र मौन पीडासहित।
तिमीले कहिल्यै
उपकारको हिसाब राखेनौ,
तर उनीहरूले
तिमीलाई प्रयोगको सूचीमा राखे।
तिम्रो सरलता
उनीहरूको लागि अवसर बन्यो,
तिम्रो मौनता
तिनीहरूको हतियार।
लाभ उठाइसकेपछि
उनीहरू हराए—
न धन्यवाद,
न माफी,
न कुनै स्पष्टीकरण।
तिमी भने
आफ्नै प्रश्नहरूसँग
एक्लै बाँकी रह्यौ।
रातहरू आयो
जहाँ आँसु आवाजबिना बग्थे,
जहाँ मन चिच्याउँथ्यो
तर ओठ मौन रहन्थे।
“के गल्ती मेरो नै थियो
साँचो हुनु?”
तर सम्झ,
ईश्वरको कक्षमा
कुनै अँध्यारो कुनो हुँदैन।
त्यहाँ सबै लेखिन्छ—
तिम्रो सहनशीलता,
तिम्रो धैर्य,
र उनीहरूको छल।
ईश्वर मौन हुनु
अन्धोपन होइन,
यो परीक्षा हो।
समयले ढिला गर्छ,
तर न्याय कहिल्यै हराउँदैन।
आजको सफलता,
आजको पैसा,
आजको तालीमा
घमण्ड नगर्नू।
किनकि यदि ईश्वरले हेरिरहेका छन् भने,
गलत बाटो हिँड्ने
अचानक गहिरो खाडलमा
खस्न सक्छ।
साँचो उचाइ
अरूलाई दबाएर होइन,
आफूलाई शुद्ध राखेर पाइन्छ।
साँचो जित
धोका दिएर होइन,
धैर्य गरेर कमाइन्छ।
त्यसैले शान्त रहनू,
टुटे पनि नकटिनू।
आँसु बगे पनि
आशा नछोड्नू।
किनकि अन्ततः
मानिसहरू त आउँछन्, जान्छन्,
तर ईश्वर
सधैँ तिम्रो साथमै रहन्छन्।

-चन्दा पराजुली

कविता