कला साहित्य

समयको शिक्षाः विश्वासको उज्यालो

समयको शिक्षाः विश्वासको उज्यालो

समयले मानिसलाई
शब्दबिनै बदल्दै लैजान्छ,
न त घोषणा गर्छ,
न त प्रमाण खोज्छ,
बस्,
हामीलाई हामीबाटै परिपक्व बनाउँछ।

आलोचना सजिलो हुन्छ,
किनकि त्यसमा
हृदय चाहिँदैन।
तर बुझ्न सक्नु
बुद्धिको होइन,
करुणाको काम हो।

पुस्तकले सिकाउने ज्ञान
सिमित हुन्छ,
तर जीवनले
त्यो पाठ पढाउँछ
जहाँ आँसु पनि
शिक्षक बन्छ।

जसले सहन गर्‍यो,
त्यसैले मात्र जान्दछ
उसले कति युद्ध लड्यो।
सबै घाउ देखिँदैनन्,
तर सबै घाउले
हामीलाई बलियो बनाउँछन्।

हिँडिरहनु सजिलो होइन,
तर रोकिएर बस्नु पनि समाधान होइन।
हरेक चोटसँग
अगाडि बढ्ने साहस
आफैं जन्मिनुपर्छ।

जब थकानले
आत्मा भारी हुन्छ,
त्यतिबेला
विश्वास हलुका पखेटा बन्छ।
ईश्वरमाथिको भरोसा
र उहाँको आशीर्वादप्रतिको विश्वास
हामीलाई फेरि उठ्न सिकाउँछ।

सबै कुरा बुझ्नु जरुरी छैन,
सबै प्रश्नको उत्तर पाउनुपर्छ भन्ने पनि छैन।
बस्,
यति थाहा भए पुग्छ,
हामी एक्ला छैनौं।

यदि तिमी थाकेका छौ भने,
याद राख,
समय तिम्रो पक्षमा काम गरिरहेको छ।
विश्वास गर,
हिँडिरह,
उज्यालो नजिकै छ।

-चन्दा पराजुली

चन्दा पराजुली