राजनीति

गगनको सुशासन ‘हात्तीको देखाउने दाँत’: बालमन्दिर काण्डका आरोपीलाई केन्द्रीय सदस्यको उपहार

गगनको सुशासन ‘हात्तीको देखाउने दाँत’: बालमन्दिर काण्डका आरोपीलाई केन्द्रीय सदस्यको उपहार

काठमाडौं — नेपाली कांग्रेसको ‘विशेष महाधिवेशन’ ले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई पार्टीको कुनै पनि जिम्मेवारीबाट अलग गर्ने ‘कठोर’ राजनीतिक प्रस्ताव पारित गरेको २४ घण्टा नबित्दै सोही निर्णयको धज्जी उडाइएको छ। गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिले बालमन्दिर जग्गा घोटाला प्रकरणमा गम्भीर भ्रष्टाचार मुद्दा खेपिरहेका सुवास कुमार पोखरेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि नेतृत्वको ‘नैतिकता’ माथि प्रश्न उठेको हो।

विशेष महाधिवेशनको बन्द सत्रमा ‘सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ को नारा घन्काउँदै भ्रष्टाचार वा फौजदारी अभियोग लागेकालाई पार्टीमा कुनै स्थान नदिने प्रस्ताव ताली बजाएर पारित गरिएको थियो। तर, सोही मञ्चबाट घोषित केन्द्रीय कमिटीको सूचीमा खोटाङका सुवास कुमार पोखरेलको नाम अटाएको छ। पोखरेल तिनै व्यक्ति हुन् जोविरुद्ध बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।

को हुन् सुवास कुमार पोखरेल? (फ्याक्ट चेक)

हाम्रो तथ्य जाँच (Fact Check) र अदालतको अभिलेख अनुसार, सुवास कुमार पोखरेल नेपाल बाल संगठन (बालमन्दिर) का तत्कालीन महासचिव हुन्। नक्सालस्थित बालमन्दिरको २९ रोपनी जग्गा व्यापारिक घरानालाई कौडीको भाउमा लिजमा दिएर संस्थालाई करोडौं नोक्सानी पुर्‍याएको अभियोगमा उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान गरेको थियो। सोही प्रकरणमा उनीसहित २० जनाविरुद्ध २०८१ सालको सुरुमा पक्राउ पुर्जी समेत जारी भएको थियो भने हाल उनी सो मुद्दाका प्रतिवादी हुन्।

आफैंले पारित गरेको विधान र राजनीतिक प्रस्तावको मसी सुक्न नपाउँदै गगन–विश्वप्रकाश नेतृत्वले ‘दाग लागेका’ व्यक्तिलाई केन्द्रीय सदस्य बनाएर पुरस्कृत गरेपछि असन्तुष्ट पक्षले यसलाई ‘हात्तीको देखाउने दाँत’ को संज्ञा दिएका छन्। सुधारको नारा दिएर नेतृत्वमा आएको टिमले पहिलो गासमै ढुङ्गा लाग्ने गरी गरेको यो निर्णयले उनीहरूको सुशासनप्रतिको प्रतिबद्धतामा गम्भीर आशंका उब्जाएको छ।

नेपाली काँग्रेस विश्वप्रकाश शर्मा गगन थापा कुमार पोखरेल नेपाली कांग्रेस विशेष महाधिवेशन