राजनीति

गगन थापालाई 'गर वा मर' को अवस्था: देउवासँग झुक्लान् कि नेतृत्व खोस्लान्?

गगन थापालाई 'गर वा मर' को अवस्था: देउवासँग झुक्लान् कि नेतृत्व खोस्लान्?

गगन थापाको अग्निपरीक्षा: नेतृत्व हत्याउने कि 'लेनदेन' मा फस्ने?

नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा महामन्त्री गगन थापाका सामु पार्टी नेतृत्व लिने ऐतिहासिक अवसर जुटेको विश्लेषण हुन थालेको छ। तर, सभापति शेरबहादुर देउवासँग सहमतिका नाममा 'लेनदेन' गरेर अघि बढेमा थापाले यो अवसर गुमाउन सक्ने भन्दै उनी निकट केही नेताहरूले सचेत गराएका छन्। सहमतिको प्रयास भइरहँदा नेतृत्व परिवर्तनको मुख्य एजेन्डा ओझेलमा पर्न सक्ने र गगन थापा सम्झौताको पासोमा फस्न सक्ने चिन्ता पार्टीभित्र व्यक्त गरिएको छ।

विधानको जटिलता र नेतृत्व परिवर्तनको बहस

नेतृत्व परिवर्तनको विषय जोडदार रूपमा उठे पनि यसको प्राविधिक पक्षबारे पार्टीभित्र दुई धार देखिएको छ। कतिपय नेताहरूका अनुसार, पार्टीको नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा तत्काल नेतृत्व फेर्न वैधानिक जटिलता छ। सभापतिलाई कार्यकाल नसकिँदै हटाउन विधानतः दुई तिहाइ बहुमत आवश्यक पर्ने उनीहरूको तर्क छ। यो समूहले 'अंकगणित' को कारण देखाउँदै विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको सम्भावना न्यून रहेको दाबी गरेको छ।

जेन–जी म्यान्डेट र देउवामाथि प्रश्न

अर्कोतर्फ, ८० वर्ष उमेर कटिसकेका सभापति देउवाले अझै पनि पद नछोड्नुलाई आम जनमानस र कार्यकर्ता पंक्तिले रुचाएको छैन। 'जेन–जी आन्दोलन' को म्यान्डेट र देशको आवश्यकतालाई सम्बोधन गर्न पनि देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने मत बलियो बन्दै गएको छ। देश र पार्टीका लागि अब देउवाले गर्नुपर्ने केही बाँकी नरहेको भन्दै आलोचकहरूले विशेष महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्न कुनै बाधा नहुने जिकिर गरेका छन्। यो निर्णायक घडीमा महामन्त्री गगन थापाले 'खुट्टा नकमाई' अघि बढ्नुपर्ने र नेतृत्वको दाबी नछाड्न उनीमाथि नैतिक दबाब बढेको छ।

गगन थापा शेरबहादुर देउवा