राजनीति

भाडभैलोले मोडियो एमाले महासचिव चुनाव: सुरेन्द्र पाण्डे बलियो बन्दै

भाडभैलोले मोडियो एमाले महासचिव चुनाव: सुरेन्द्र पाण्डे बलियो बन्दै

नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीको प्यानलबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बाहेक अन्य कुनै औपचारिक उम्मेदवार नउठेपछि अध्यक्ष पदमा ओलीको जित सम्भावित देखिएको छ। यद्यपि अध्यक्ष पद अपेक्षाकृत सहज देखिए पनि अन्य पदहरूमा भने तीव्र आन्तरिक प्रतिस्पर्धा र भाडभैलो देखिन थालेको छ।

महासचिव पदका लागि सुरुमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। तर पदाधिकारी तहमा व्यापक असन्तुष्टि र स्वतन्त्र उम्मेदवारीको लहर बढेसँगै बनेको भाडभैलोले शंकर पोखरेललाई फाइदा पुगेको विश्लेषण हुन थालेको छ।

यद्यपि ओली नेतृत्वप्रति असन्तुष्ट र असहज भएका नेताहरूले शंकर पोखरेललाई भोट नहाल्ने सम्भावना पनि देखिएको छ। महासचिव पदका अर्का आकांक्षी पृथ्वीसुब्बा गुरुङ समेत यस प्रतिस्पर्धामा सक्रिय देखिएका छन्।

पार्टीको आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका सम्भावित प्रतिस्पर्धीका रूपमा शंकर पोखरेल र विष्णु पौडेलको नाम अघि सारिँदै आएको सन्दर्भमा, पोखरेललाई सहयोग नगर्ने रणनीतिमा पौडेल रहेको अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ। यही कारण विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङजस्ता नेताहरूले महासचिव पदमा सुरेन्द्र पाण्डेलाई समर्थन गर्ने सम्भावना बलियो देखिएको छ।

महाधिवेशनको निर्वाचन नजिकिँदै जाँदा महासचिवसहित अन्य पदहरूमा देखिएको आन्तरिक शक्ति संघर्षले एमालेभित्रको समीकरण थप जटिल बन्दै गएको संकेत गरेको छ।

नेकपा एमालेको ११औँ महाधिवेशन