राजनीति

एमाले महाधिवेशन: सर्वसहमतिको दाबीबीच ओली प्यानलमा व्यापक भाडभैलो

एमाले महाधिवेशन: सर्वसहमतिको दाबीबीच ओली प्यानलमा व्यापक भाडभैलो

नेकपा एमालेको ११औँ महाधिवेशनमा सर्वसहमति को नाममा देशभर करिब ७० प्रतिशत प्रतिनिधि अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेको दाबी गरिएको थियो। तर चुनाव लड्न चाहने धेरै नेताहरूले उम्मेदवारी नै दिन नपाएको र जित्ने लोभले ठूलो संख्यामा नेताहरू ओली प्यानलमा समेटिएको स्रोतहरू बताउँछन्। एउटै पदमा धेरै नेताको आकांक्षाले आन्तरिक असन्तुलन चुलिएको देखिन्छ।

अध्यक्ष पद बाहेक अन्य सबै पदमा भाडभैलोको अवस्था छ। केही उपाध्यक्ष आकांक्षीहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। महासचिव पदमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र शंकर पोखरेलबीच दाबी थियो। अन्ततः प्रदीप ज्ञवालीले भावुक हुँदै केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन्।

उपमहासचिव पदमा ओलीको खुलेर बचाउ गर्दै आएका राजेन्द्र गौतमले स्वतन्त्र उम्मेदवारी दिएका छन्, उनलाई ईश्वर पोखरेलले समेट्ने प्रयास गरिरहेको चर्चा छ। यस्तै, रघुजी पन्तले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। सचिव पदमा पनि स्वतन्त्र वा बागी उम्मेदवारी देखिएको छ।

स्वतन्त्र वा बागी उम्मेदवारी नपरेको पद ओली प्यानलमा लगभग छैन। भाडभैलो चुलिँदै जाँदा सुरुवातमा भनिएको ७० प्रतिशत प्रतिनिधिको समर्थन अहिले घटेर करिब ४५–५० प्रतिशतमा सीमित भएको अनुमान गरिएको छ।
 

एमाले महाधिवेशन ओली प्यानल