डिसेम्बरको अन्तिम अध्याय
डिसेम्बरको अन्तिम अध्याय,
हिउँजस्तै सेतो मौनमा लेखिँदैछ।
समयको किताब बन्द हुन लाग्दा
वर्षले आफैँलाई सोध्छ—
के गुमाएँ, के पाएँ?
चिसो हावामा
अतीतका स्वरहरू काँप्छन्,
कहिल्यै नसोधिएका प्रश्न,
कहिल्यै नसुनेका उत्तरहरू।
डिसेम्बर सब सुन्छ,
केही भन्दैन।
यो महिनाले
नाङ्गो सत्य देखाउँछ—
मुस्कानभित्र लुकेको स्वार्थ,
मायाको नाममा गरिएको सौदा,
मित्रताको खोलभित्र
बसोबास गरेको हिसाब।
काम परुन्जेल न्यानो,
काम सकिएपछि अपरिचित।
घामजस्तै लाग्ने सम्बन्ध
साँझ पर्न नपाउँदै हराए।
त्यो दिन बुझें—
सबै साथ, साथ हुँदैनन्।
डिसेम्बर साक्षी थियो
जब विश्वासले घाइते भएर
मौन रोज्यो।
जब इमानदारी थाकेर
आफैँसँग फर्कियो।
त्यसपछि
मैले सत्यको आगो बालें—
ढिलो, तर दृढ।
त्यस आगोमा अर्पण गरें:
झुटा वाचा,
स्वार्थी सम्बन्ध,
अस्थायी मान्छे,
उधारो भावनाहरू—
सबै स्वाहा।
जल्दै गर्दा दुखाइ करायो,
स्मृतिहरू रोए,
तर आत्मा हलुका भयो।
खरानीमाथि उभिएर
पहिलोपटक
आफैँलाई भेटेँ।
अब म भीड खोज्दिनँ,
न त भीडको स्वीकृति।
मलाई थोरै मान्छे चाहिन्छ—
जो चिसोमा पनि नछोडून्,
जो मौनमा पनि बुझून्।
डिसेम्बरले सिकायो—
अन्त्य सधैँ नोक्सान हुँदैन।
कहिलेकाहीँ
अन्त्य नै मुक्तिको सुरुवात हुन्छ।
तर यदि कतै
तिमीभित्र अझै
पश्चाताप बाँकी छ भने—
मैले सहनु परेको
मौन, चोट र क्षतिहरूको—
खाली हात होइन,
जिम्मेवारी र क्षतिपूर्तिसहित आऊ।
किनकि अब
माया पनि न्याय खोज्छ,
र म
अधूरो स्वीकार
अब फेरि गर्दिनँ।
यदि बस्ने हो भने,
साँचो भएर बस।
यदि जानु छ भने,
डिसेम्बरलाई दोष नदेऊ।
ऊ त केवल
स्वार्थी सम्बन्धहरूलाई
सुन्दर तरिकाले
स्वाहा बनाउने मौसम हो।
चन्दा पराजुली-चन्दा पराजुली