राजनीति

घण्टीभित्र कोलाहल: एपको मत रद्दीको टोकरीमा, ‘प्रोक्सिमिटी’ का नाममा नेतृत्वको मनपरी!

घण्टीभित्र कोलाहल: एपको मत रद्दीको टोकरीमा, ‘प्रोक्सिमिटी’ का नाममा नेतृत्वको मनपरी!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक उम्मेदवार चयन प्रक्रियाले गम्भीर विवादको रूप लिएको छ। पार्टीले 'उन्नत लोकतन्त्र' को अभ्यास भन्दै मोबाइल एपमार्फत गराएको आन्तरिक प्राथमिक निर्वाचन (प्राइमरी) को नतिजालाई लत्याउँदै निर्वाचन आयोगमा बुझाइएको अन्तिम सूचीमा व्यापक फेरबदल गरिएको तथ्य सार्वजनिक भएको छ। दलित क्लस्टरमा १३ हजार १ सय ४३ मतसहित सर्वाधिक लोकप्रिय बनेका विजय जैरू अन्तिम ११० जनाको सूचीबाटै हटाइएपछि असन्तुष्टि चुलिएको हो। त्यस्तै, खसआर्यतर्फ १३ हजार ५ सय ५१ मत ल्याएर महिलामा पहिलो बनेकी रञ्जु दर्शनालाई १०औं नम्बरमा धकेलिएको छ भने उनीभन्दा कम मत ल्याएकी प्रतिभा रावललाई पहिलो नम्बरमा राखिएको छ। खसआर्यमै १८ हजारभन्दा बढी मत ल्याएका रमेश प्रसाईंलाई पछि पार्दै ६ हजार कम मत ल्याएका विपिनकुमार आचार्यलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ।

पार्टी नेतृत्वले भने प्राथमिक निर्वाचनको मतभार ५० प्रतिशत मात्र रहेको र बाँकी ५० प्रतिशत 'लिडरसिप एकेडेमी' र 'पोलिटिकल प्रोक्सिमिटी' (राजनीतिक निकटता) का आधारमा तय गरिएको दाबी गरेको छ। नेता समीक्षा बाँस्कोटाका अनुसार अन्तिम समयमा बालेन शाह र कुलमान घिसिङ समूहसँग भएको एकता र सहमतिका कारण पनि क्रमसंख्यामा तलमाथि भएको हो। सहमहामन्त्री विपिनकुमार आचार्यले मोबाइल एपमा २ लाख ५० हजार सदस्य भए पनि जम्मा २६ हजार ४ सय ३ जनाले मात्र मत खसालेकाले 'स्याम्पल साइज' सानो भएको र उम्मेदवारको बहुमुखी प्रतिभा हेरेर निर्णय लिइएको तर्क गरेका छन्। तर, असन्तुष्ट पक्षले भने नेतृत्वले आफू निकटका व्यक्तिहरू—विशेषगरी रवि लामिछाने र स्वर्णिम वाग्ले निकटका पात्रहरूलाई—माथि तान्न 'विधि' को दुरुपयोग गरेको आरोप लगाएका छन्।

यस प्रक्रियाप्रति पार्टीभित्रैबाट नैतिक प्रश्नहरू उठ्न थालेका छन्। दलित क्लस्टरबाट उम्मेदवार बनेका डा. रामजी रामले सर्वाधिक मत ल्याउने विजय जैरूको नाम सूचीमै नदेख्दा आफूलाई 'लज्जाबोध' भएको भन्दै सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गरेका छन्। सूचीबाट हटाइएका जैरूले आफू लिडरसिप एकेडेमी र अन्य मापदण्डमा पनि अब्बल हुँदाहुँदै नेतृत्वले लोकतन्त्रको धज्जी उडाएको गुनासो गरेका छन्। बालेन शाह र कुलमान घिसिङसँगको 'पावर सेयरिङ' र नेतृत्वको स्वार्थ हाबी हुँदा, प्रविधिमैत्री र पारदर्शी दलको दाबी गर्ने रास्वपाको यो कदमले विधि र थितिमा विश्वास गर्ने हजारौं मतदाता र कार्यकर्तामाझ शंका उब्जाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)