समानुपातिक सूचीमा 'ब्रम्हलुट' ! जेनजी संयोजकको प्रश्न— 'शहिदको बलिदान यसैका लागि?
राजनीतिक दलहरूले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएसँगै यसको उद्देश्य र औचित्यमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। यसै सन्दर्भमा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले दलहरूले समानुपातिक प्रणालीको मूल मर्ममाथि प्रहार गर्दै यसलाई 'सांसद पद बिक्री केन्द्र' र 'नातेदार भर्ती केन्द्र' मा परिणत गरेको गम्भीर आरोप लगाएकी छिन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै बमले संविधानले सदियौंदेखि पछाडि पारिएका वर्ग, समुदाय, क्षेत्र र आवाजलाई सदनमा प्रतिनिधित्व गराउन परिकल्पना गरेको व्यवस्थालाई दलहरूले अनैतिक लाभका लागि प्रयोग गरेको टिप्पणी गरेकी हुन्। उनले हजारौंको बलिदानबाट प्राप्त र निश्चित वर्गको हालीमुहाली तोड्न ल्याइएको प्रणालीको वर्तमान दुरुपयोग देखेर आफू निकै खिन्न भएको उल्लेख गरेकी छिन्।
विशेषतः सुदूरपश्चिम क्षेत्रको निरन्तर उपेक्षाप्रति बमले गहिरो असन्तुष्टि र भावनात्मक आक्रोश पोखेकी छिन्। 'पुस १५' को सांस्कृतिक सन्दर्भ कोट्याउँदै उनले रातभर जागै बसेर पकाइने 'भुन्या रोटी' को प्रसंगमार्फत आफ्नो भूगोलको पीडा उजागर गरेकी छिन्। 'मेरो सुदूर अझै पनि सुदूर नै छ' भन्दै उनले काठमाडौंको सत्ता र नीति निर्माण तहले सुदूरपश्चिमलाई देशको मानचित्रमा समेत बिर्सेको तीतो यथार्थ औंल्याएकी छिन्। उम्मेदवारको सूचीमा आफ्नो क्षेत्र र समुदायको उचित प्रतिनिधित्व नदेख्दा राज्यको केन्द्रबाट आफूहरू अझै टाढा रहेको महसुस भएको उनको भनाइ छ। यो अभिव्यक्तिले सीमान्तकृत भूगोलका नागरिकमा व्याप्त राजनीतिक नैराश्यतालाई स्पष्ट रूपमा प्रतिविम्बित गरेको छ।
बमको यो टिप्पणीले निर्वाचनको मुखमा दलहरूभित्र मौलाएको नातावाद र अवसरवादविरुद्ध युवा पुस्ताको खबरदारीलाई संकेत गरेको छ। उनले सुदूरपश्चिम पनि नेपालकै मानचित्रमा पर्छ भन्ने कुरा सत्तालाई पटक–पटक सम्झाउनुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएकी छिन्। समानुपातिक समावेशी सिद्धान्तलाई केवल नारामा सीमित राखेर व्यवहारमा आफ्ना नजिकका मान्छेहरूलाई पोस्ने दलहरूको प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थाकै उपहास गरेको उनको ठहर छ। निर्वाचन आयोगमा सूची बुझाएका दलहरूले जनभावना विपरित कदम चालेको भन्दै आएको यो आलोचनाले आगामी दिनमा समावेशिताको मुद्दा थप पेचिलो बन्ने संकेत गरेको छ।
रक्षा बम