मुखौटाहरूको शहरमा एक्लो सत्य
मानिसहरू बोल्छन्,
किनकि यहाँ
अरूको जीवन चिर्नु
एउटा दैनिकी बनेको छ।
तिमी को हौ?
कहाँबाट आयौ?
किन यति मौन छौ?
किन यति फरक छौ?
प्रश्न होइनन् यी,
यी त
शब्दको छुरा हुन्—
बिस्तारै काट्ने,
रगत नदेखिने,
तर घाउ गहिरो बनाउने।
शब्दसँग खेल्न जान्नेहरू
यहाँ देवता ठहरिन्छन्,
परिस्थितिलाई आफ्नो पक्षमा मोडेर
झुटलाई पनि सत्य जस्तो सजाउँछन्।
र
जो नाटक गर्न जान्दैन,
जो सिधै हिँड्छ,
जो आफ्नो आत्मासँग सम्झौता गर्दैन—
त्यही मान्छे
सबैभन्दा नक्कली देखिन्छ।
यहाँ त
सीताजस्ती पवित्र देवी पनि
आगोको परीक्षा दिन बाध्य भइन्,
त्यसो भए
म को हुँ र
कसरी निर्दोष ठहरिन सक्छु?
म मानिससँग डराउँदिन।
म डराउँछु
उनीहरूले लगाएको
सुन्दर, सभ्य, मुस्कुराउने
मुखौटासँग।
किनकि थाहा हुँदैन—
को हात समात्दैछ
र
को पछाडिबाट टोक्दैछ।
को आफ्नो हो भनेर सोच्दा
त्यही नै परायो निस्किन्छ,
र
को रगतको सम्बन्ध हो भनेर भरोसा गर्दा
त्यही मौन शत्रु बन्छ।
म एक्लोपनसँग डराउँदिन।
एक्लै उभिनु
मेरो हार होइन।
म मौन हुन सक्छु,
तर कमजोर छैन।
तर
जब आफ्नैले
आँखा बन्द गर्छन्,
सत्य सुन्न नचाहेर
झुटो कथाको पछि लाग्छन्—
त्यो क्षण
शरीर होइन,
आत्मा दुख्छ।
यहाँ कसैले
कसैको लागि
बिनाकारण केही गर्दैन।
हरेक साथको पछाडि
एउटा उद्देश्य हुन्छ,
हरेक माया जस्तो देखिने व्यवहारको
एउटा हिसाब हुन्छ।
तर
किन मानिसहरूले
यो यति ढिलो बुझ्छन्?
वा
बुझेर पनि
नबुझेझैँ गर्छन्?
अब म बुझ्न थालेको छु—
कसरी शब्दले
मानिसलाई दोषी बनाइन्छ,
कसरी मौनतालाई कमजोरी भनिन्छ,
कसरी सत्य बोल्ने मान्छे
समस्याको रूपमा देखिन्छ।
यो सबै हेरफेर हो,
यो सबै नाटक हो,
र
म
यो रंगमञ्चमा
अभिनय गर्न नजानेको कलाकार।
यस भीडमा
मैले मानिस चिन्ने मौका पाएँ—
को स्वार्थी रहेछ,
को आफ्नै भएर पनि
अझै खतरनाक रहेछ।
मुखौटा झर्दा
अनुहार मात्र देखिँदैन,
मनको अन्धकार पनि
उजागर हुन्छ।
जे भए पनि,
अब म थाकेको छैन—
म सचेत छु।
घाइते छु,
तर झुकेको छैन।
फेरि फेरि,
सबै तिमीमै सुम्पिन्छु,
हे मेरा भगवान्—
किनकि
जब संसारले
झुट रोज्छ,
सत्य बोकेको मान्छे
तिमीबाहेक
कसैको हुँदैन।
चन्दा पराजुली-चन्दा पराजुली