कला साहित्य

नेपालमा प्रतिभा नक्षेत्रको स्थापना : कला, संस्कृति र नेतृत्व विकासमा नयाँ आयाम

नेपालमा प्रतिभा नक्षेत्रको स्थापना : कला, संस्कृति र नेतृत्व विकासमा नयाँ आयाम

काठमाडौं – सन् २०१७ देखि बेलायतमा निरन्तर र सफल रूपमा सञ्चालन हुँदै आएको प्रतिभा नक्षेत्र बेलायतको अवधारणालाई आत्मसात गर्दै नेपालमा पनि प्रतिभा नक्षेत्र नेपाल गठन गरिएको छ। विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा जितेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको यस संस्थाले नेपालभित्रका कला, साहित्य, शिक्षा, संस्कृति तथा सामाजिक सेवामा क्रियाशील प्रतिभाहरूलाई एकीकृत गर्दै उनीहरूको पहिचान, विकास र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

प्रतिभा नक्षेत्र नेपालले सिर्जनशील सोचको प्रवर्द्धन, नेतृत्व क्षमताको विकास र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आफ्नो गतिविधि अघि बढाउने जनाएको छ। नेपाली कला, भाषा र संस्कृतिको संरक्षण गर्दै ती मूल्यहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको बताइएको छ। परम्परागत ज्ञान, सीप र सांस्कृतिक पहिचानलाई आधुनिक पुस्तासँग जोड्दै निरन्तरता दिनु संस्थाको प्राथमिकतामा रहेको छ। साथै, नेपालभित्र रहेका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्य पनि संस्थाले अघि सारेको छ।

संस्थाले सन् २०२७ मा बेलायतमा सञ्चालन हुँदै आएका कार्यक्रमहरूको शैली र मापदण्डअनुसार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। उक्त कार्यक्रममा ६ देखि ११ वर्ष उमेर समूहका लागि ‘बाल प्रतिभा’ र १२ देखि १९ वर्ष उमेर समूहका लागि ‘युवा प्रतिभा’ नक्षेत्रका रूपमा वर्गीकरण गरी कार्यक्रम हरेक वर्ष सञ्चालन गरिने जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो। उक्त कार्यक्रमका संरक्षक संस्थाका रूपमा प्रतिभा नक्षेत्र बेलायत तथा यसका परिकल्पनाकार राजेन्द्र खस रहनुभएको छ। यस सहकार्यले नेपाल र प्रवासमा रहेका नेपाली प्रतिभाबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, प्रतिभा नक्षेत्र नेपालका सचिव शंकर पाण्डे ‘मुक्ति’ ले निकट भविष्यमा नेपालका सातै प्रदेशमा संस्थाको सञ्जाल विस्तार गरिने जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशस्तरमा सञ्जाल विस्तार भएसँगै स्थानीय तहमा लुकेर रहेका प्रतिभाको खोज, अभिलेखीकरण तथा प्रवर्द्धन अझ प्रभावकारी हुनेछ। “नेपाली कला र संस्कृतिलाई पुस्तौँपुस्तासम्म जीवित राख्ने अभियान प्रदेश–प्रदेशबाट अघि बढाइनेछ,” उहाँले बताउनुभयो।

आगामी दिनमा प्रतिभा नक्षेत्र नेपालले प्रतिभा खोज तथा सम्मान कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ। संसारभर रहेका नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने यस पहलले नेपाली कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिभा नक्षेत्र