एनआईसी एशियाको सुन्दरीकाण्डले हल्लायो बजार: साख गुम्दै, जनता आक्रोशित!
काठमाडौं — देशकै ठूला निजी बैंकमध्ये एक, एनआईसी एशिया बैंक लिमिटेड भित्र यौन दुर्व्यवहार, आन्तरिक दुराचार र “मिलेरै सल्टाउने” संस्कृतिले संस्थागत साख र नैतिक मूल्य दुबैमा गहिरो प्रश्न उठाएको छ। पछिल्ला मिडिया रिपोर्टहरूका अनुसार बैंकका एक उच्च अधिकारीले आफ्नै सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई बचाउन खोज्दै समाचार नछाप्न पत्रकारमाथि दबाब दिएका थिए।
विश्वसनीय स्रोतहरूका अनुसार ती अधिकारीले संस्थाको साखमा असर पर्छ भन्दै सञ्चारमाध्यमलाई समाचार रोक्न आग्रह गरे। तर, सो अधिकारी स्वयं पनि एक महिला पत्रकारसँगको नजिक सम्बन्धका कारण आन्तरिक विवादमा तानिएका व्यक्ति हुन्। बैंकभित्रका अनियमितता र दुराचारका कुरा बाहिर निस्केपछि उनले व्यक्तिगत भेटमा पत्रकारलाई भनेका थिए — “विषय उठिसकेको छ, छानबिन गर्छौं, प्रमाणित भए कारबाही हुन्छ, तर कृपया नलेखिदिनुहोस्, कसैको घर बिग्रिन्छ, मिलेरै सल्टाऔं।”
तर, यो “मिलेरै सल्टाउने” संस्कृति बैंकमा नयाँ होइन। आन्तरिक स्रोतका अनुसार यस्तै अभ्यासकै कारण एक उच्च अधिकारीको घरबार संकटमा परेको थियो। उनी लगातार राति अबेरसम्म कार्यालयमा बस्ने, घरमा समय दिन नसक्ने अवस्थाले पारिवारिक सम्बन्ध तनावपूर्ण बनेपछि उनकी श्रीमतीले कार्यालयमै पुगेर भेट गर्नुपरेको थियो। सो भेटपछि कार्यालय परिसरमा नै हङ्गामा भएको बताइन्छ — जसले संस्थाभित्रको अस्वस्थ र अनियन्त्रित वातावरण प्रष्ट पारेको छ।
बैंकका उच्च अधिकारीदेखि सञ्चालक समितिसम्मका पदाधिकारीहरू निरन्तर विवादमा छन्। पालन नीति (compliance) उल्लङ्घनदेखि कर्मचारीमाथि मानसिक दवाब, अनुचित पदोन्नति र आन्तरिक स्वार्थका मुद्दासम्म, नियामक निकाय नेपाल राष्ट्र बैंकले विगत वर्षदेखि नै गम्भीर चासो देखाउँदै आएको छ।
यही कारण राष्ट्र बैंकमा “एनआईसी एशिया बैंक लिमिटेड बन्द गर्नुपर्छ” भन्ने उजुरी समेत दर्ता भएको बताइन्छ। उजुरीकर्ताहरूका अनुसार “संस्थागत शासनको अभाव, यौन दुर्व्यवहार ढाकछोप गर्ने प्रवृत्ति, र बोर्डका स्वार्थी निर्णयहरूले बैंकलाई वित्तीय जोखिमतिर धकेलिरहेको छ।”
यसबीच, नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) सुजित कुमार शाक्यको नियुक्तिसँगै, बैंक पुनः निगरानीमा आएको छ। तर जनमत स्पष्ट छ — बचेर काम गर्नुहोस्, सीईओ साहेब। अब केवल आफ्नो पद होइन, लगानीकर्ता र जनताको मेहनतको बचत पनि तपाईंको जिम्मामा छ। राष्ट्र बैंकका नियमहरू पालना गर्नुहोस्, सञ्चालकहरूको स्वार्थभन्दा माथि उठ्नुहोस्, अनि संस्थाको साखलाई पारदर्शितासँग जोड्नुहोस्।
आरोपित पक्षसँग सम्पर्कका प्रयास विफल भएका छन्। तर यौन दुर्व्यवहारजस्ता संवेदनशील विषयहरूलाई “संस्थाको साख” भन्दै लुकाउने प्रवृत्तिले नेपालकै बैंकिङ प्रणालीभित्रको नैतिकता र जवाफदेहितामाथि गहिरो प्रश्न खडा गरेको छ।
अब प्रश्न उठेको छ — पैसाको सत्ताभित्र लुकेका यस्ता अपराध र स्वार्थी निर्णयहरूलाई अझ कति समयसम्म ढाकछोप गरिँदै राख्ने?