‘ध्रुबे हात्ती’ बनेका चिनियाँ ठेकेदार: मुग्लिन–पोखरा सडक विस्तारमा समयमै काम पूरा हुने सम्भावना शून्य!

‘ध्रुबे हात्ती’ बनेका चिनियाँ ठेकेदार: मुग्लिन–पोखरा सडक विस्तारमा समयमै काम पूरा हुने सम्भावना शून्य!

नेपालमा रहेका चिनियाँ कूटनीतिज्ञहरू 'वुल्फ वारियर' कूटनीतिको रणनीति पछ्याइरहेका छन्। चिनियाँ निर्माण ठेकेदारहरू पनि निर्मम कूटनीतिज्ञहरूको समर्थनमा छन्। चिनियाँ ऋण जाल नेपालको लागि टाउको दुखाइको विषय बनेको छ। हाल चिनियाँ ठेकेदारहरूले नेपालको विकासमा ठूलो समस्या सिर्जना गरिरहेका छन्।

चिनियाँ ठेकेदारहरूलाई मदिराले मात्तिएको 'ध्रुबे हात्ती' संग तुलना गर्न सकिन्छ। यिनीहरूलाई न त कुनै नियमकानुनले नियमन गर्न सक्छ, न त सरकारी निकायहरूले नियन्त्रण गर्न सक्छ। यी ठेकेदारहरूले समयमा काम सक्दैनन्। निर्माण कार्यमा सुरक्षा मापदण्ड लागू नगर्ने हुँदा प्रदूषण र सुरक्षा जोखिम बढ्दै गइरहेको छ। निर्माण सुरु गरेदेखि नै धेरै दुर्घटना भइसकेका छन् र धेरै पैरो गइसकेको छ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको अवरोध

८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद आगामी भदौमा सकिँदैछ। तर, काम अझै आधा पनि पूरा भइसकेको छैन।

सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का निर्देशक चुडाराज ढकालका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म यो आयोजनाको भौतिक प्रगति ४५.४२ प्रतिशत मात्र रहेको छ।

यो आयोजनालाई दुई भागमा छुट्याएर काम भइरहेको छ। आँबुखैरेनी–जामुनेसम्म ४१.४५ किलोमिटरको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ। जामुनेदेखि पोखरा पृथ्वीचोकसम्मको ३८.८८ किलोमिटर सडक विस्तारको काम भने आनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ। यी दुवै खण्डको काम समयमै पूरा नहुने निश्चित भइसकेको छ।

पूर्वी खण्डको काम २०७७ वैशाखदेखि सुरु भएको हो भने पश्चिम खण्डको काम २०७८ भदौदेखि सुरु भएको हो। आयोजनाका अनुसार यस अवधिमा कोरोना महामारीसहितका समस्या आउँदा काममा ढिला भएको हो। यसबाहेक, सडकको बीचमा रहेका बिजुलीका पोल, रुख बिरुवा तथा घर टहरा समयमै हटाउन नसक्दा समेत आयोजनाको कामले अपेक्षित गति लिन सकेको थिएन। यो आयोजनामा भूगोल हेरेर २१ देखि ४५ मिटरसम्म सडक फराकिलो बनाउने लक्ष्य छ। आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराएको छ।

ठेक्का सम्झौता र प्रगतिको गति

४२ महिनाभित्र काम सक्ने गरी राजमार्ग विस्तारको जिम्मा आनहुई काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको हो। उक्त सडक खण्डको म्याद ०८१ भदौमा सकिँदैछ। मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा माघ २०७७ मा ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। यो आयोजनाले साइट क्लियरेन्समा धेरै झमेला बेहोर्नु परेको थियो। दमौलीको मुख्य बजारका घरटहरा भत्काउने काम एक वर्ष अगाडिबाट मात्र सुरु गरिएको छ।

सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) को पछिल्लो तथ्यांक अनुसार यो आयोजनामा ३२.३२ किलोमिटर सडकमा चार लेन नै कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ। यहाँ कुल ८०.३३ किलोमिटर कालोपत्र गर्नुपर्ने छ। दुई लेन एकतर्फी कालोपत्र गर्ने काम भने २०.८९ किलोमिटर सम्पन्न भएको छ। प्रगति विवरण केलाउँदा यो आयोजनाले आव २०८०/८१ मा केही गति लिएको देखिन्छ। सडक कालोपत्र गर्ने काम अधिकांश यसै आवमा भएको विवरणमा उल्लेख छ।

निर्माण कार्यको भौतिक प्रगति

आयोजनाका अनुसार यस सडक विस्तारका दौरान कुल २८८ स्थानमा कल्भर्ट बनाउनु पर्ने छ। त्यसमध्ये अघिल्लो आवसम्म २२९ वटा बनिसकेका छन्। कुल २९ वटा साना–ठूला पुल निर्माण गर्नुपर्नेछ। अहिलेसम्म २४ वटा पुल निर्माण भएको देखिएको छ। साइड ड्रेनतर्फ कुल १००.८५ किलोमिटर निर्माणको लक्ष्य छ। गत आवसम्म ४९.९१ किलोमिटर साइड ड्रेन निर्माण भइसकेको आयोजनाले जनाएको छ। यस प्रकार असार मसान्तसम्म यो आयोजनाको भौतिक प्रगति ४५.४२ प्रतिशत पुगेको हो। गत आवमा मात्र २५.६१ प्रतिशत भौतिक प्रगति भएको देखिएको छ।

चालु आवलाई साढे ९ अर्ब बजेट

यो आयोजनालाई चालु आवमा समेत गति दिने तयारी छ। सोहीकारण सरकारले पनि ठूलो बजेट विनियोजन गरेको छ।

चालु आवमा आँबुखैरेनी–पोखरा खण्डको कालोपत्र र मुग्लिन–आँबुखैरेनी खण्डको विस्तारलाई ९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस वर्ष भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले कुल १ खर्ब ५० अर्ब रुपैयाँको बजेट पाएकोमा साढे ९ अर्ब रुपैयाँ यो सडकले पाएको हो। जुन मन्त्रालयले पाएको बजेट हिस्साको साढे ६ प्रतिशत हाराहारी हो।

संम्बधित खबर