समाचार स्वास्थ्य

बालबालिकाको सर्वोत्तम हितका लागि डा. रिता सिंह हमालको नयाँ नेतृत्व

बालबालिकाको सर्वोत्तम हितका लागि डा. रिता सिंह हमालको नयाँ नेतृत्व

शनिबार भक्तपुरको सानोठीमीमा सम्पन्न एसओएस बालग्राम नेपालको ३३औँ साधारण सभाले डा. रिता सिंह हमालको नेतृत्वमा नयाँ १३ सदस्यीय प्रबन्ध समिति चयन गरेको छ। निर्वाचन समितिका अनुसार उपाध्यक्षमा विद्यानाथ भुर्तेल, कोषाध्यक्षमा करण वैद्य तथा सदस्यमा प्रतिभा पाण्डे, सानु भाइ खड्का र शशी सत्याल निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा संस्थागत अभ्यासअनुसार आमन्त्रित सदस्यको रूपमा बालग्राम प्रतिनिधि, आमा प्रतिनिधि, शिक्षक–कर्मचारी युनियन प्रतिनिधि तथा एसओएस हर्मन माइनर विद्यालयका प्रधानाध्यापक प्रतिनिधि रहने व्यवस्था गरिएको छ। साधारण सभाले बालबालिकाको सर्वोत्तम हित, संरक्षण र वैकल्पिक हेरचाहका लागि निरन्तर पहल गर्ने र समुदायमा आधारित कार्यक्रमलाई थप सुदृढ गर्ने प्रतिबद्धता गरेको छ।

साधारण सभामा आमन्त्रित प्रतिनिधिको रूपमा बालबालिका र युवाहरूको सक्रिय सहभागिता रहेको थियो। संस्थाले उनीहरूको सुझावलाई प्राथमिकतामा राख्दै "Nothing for us without us" भन्ने सिद्धान्तअनुरूप सुशासन प्रक्रियामा सहभागी गराउँदै आएको जनाइएको छ।

यस अवसरमा संस्थाले निवर्तमान अध्यक्ष डा. ज्योतिरत्न धाख्वालाई धन्यवाद ज्ञापन गर्दै उहाँ एसओएस बालग्राम महासङ्घ अन्तर्राष्ट्रियको कार्यसमितिमा निर्वाचित भएकोप्रति शुभकामना व्यक्त गरेको छ।

एसओएस बालग्राम नेपाल, एसओएस बालग्राम महासंघको एक स्वायत्त सदस्य संस्था हो, जसले संस्था दर्ता ऐन, २०३४ अन्तर्गत गैरनाफामूलक सामाजिक संस्थाका रूपमा दर्ता भई काम गरिरहेको छ। यसको केन्द्रीय कार्यालय भक्तपुरको सानोठीमीमा रहेको छ। संस्थाले अभिभावक गुमाएका वा हेरचाह गुमाउने जोखिममा परेका बालबालिकाका लागि वैकल्पिक हेरचाह, परिवार सबलीकरण, शिक्षा, समुदायमा आधारित संरक्षण तथा आपतकालीन सहयोग कार्यक्रम सातै प्रदेशमा सञ्चालन गर्दै आएको छ।

यो साधारण सभा र नेतृत्वको परिवर्तनलाई संस्थाले आफ्ना आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन नयाँ अवसरका रूपमा लिएको जनाएको छ।