दीपावलीमा अँध्यारो शासन: उज्यालोमाथि भारी पर्यो सत्ताको मौनता (फोटो फिचर)

जेन–जि आन्दोलनपछिको पहिलो लक्ष्मीपूजामा काठमाडौंको सत्ता–केन्द्रहरू उज्यालो होइन, अँध्यारोको प्रतीक बने। दीपावलीको रात राजधानीभर झिलिमिली बत्तीका लहरहरू फैलिँदा पनि सिंहदरबारदेखि शीतल निवास, बालुवाटार र संसद भवनसम्म शून्य र सुनसान दृश्यले देशको राजनीतिक मनोविज्ञान झल्कायो। ती भवनहरू अँध्यारो र निस्तब्ध थिए—जसरी शासन स्वयं प्रकाशभन्दा डराउँछ।
सर्बोच्च अदालत र नारायणहिटी दरबार संग्रहालयभित्र बिजुली नबलेको देखिँदा त्यो मौनता अझ गहिरो महसुस भयो। सडकका बत्तीहरूले केही उज्यालो ल्याए पनि, राज्यका संरचनामा पसेको अँध्यारोले प्रकाशलाई निरर्थक बनायो। राष्ट्रपति भवन सामान्यतया दीपावलीको रात बत्ती र सुरक्षाको उज्यालोमा नुहाउने गर्छ, तर यस वर्ष त्यो स्थान भुतघरझैँ लाग्यो। एक स्थानीयले टिप्पणी गरे, “राज्यका भवनहरू अँध्यारा हुँदा जनताको विश्वास पनि नबलेको महसुस हुन्छ।”
तर नेपाल राष्ट्र बैंक, नेपाल वायुसेवा निगम र प्रहरी मुख्यालय भने उज्यालो र केही सजावटसहित चम्किए। धरहरा र नेपाल टेलिकम परिसरमा पनि बत्ती बलेको देखिन्थ्यो, जसले अँध्यारोमाथि सानो आशाको झिल्का झल्कायो। दरबारमार्ग, नयाँबानेश्वर र थापाथलीतिर निजी भवन र पसलहरू झिलिमिली बत्तीले उज्यालो बनेका थिए—राज्यभन्दा नागरिक समाज बढी बलेको झैँ।
शक्ति र प्रतीकको यही विरोधाभासमा लक्ष्मीपूजाको सार हरायो। औंसीको रातमा शासन अँध्यारो आत्ममन्थनमा डुब्यो, तर जनताले आफ्नै उज्यालो बालेर त्यो अन्धकार चिरे। त्यो केवल दीपावलीको दृश्य होइन—एउटा युगको रुपक हो, जहाँ अँध्यारो शासन पनि उज्यालोको खोजमा छ।