चीनको अधिकारविहीन विकास मोडेल
समृद्धिको नाममा निरंकुशता निर्यात गर्ने नयाँ साम्राज्यवादी रणनीति
चीनले आफूलाई विकास र प्रगतिमा विश्वको नमूना राष्ट्र भनेर प्रस्तुत गर्छ। तर यसको वास्तविक मोडेल भने अधिकारविहीनता, निगरानी, दमन र भयको संयोजन हो। आर्थिक वृद्धि र अवसंरचना विस्तारको चमकभित्र मानिसको स्वतन्त्रता, निजी गोपनीयता र राजनीतिक अधिकार कसरी मिचिएको छ भन्ने कुरा विश्व विस्तारै बुझ्दैछ। अझ गम्भीर कुरा, यही मोडेल चीनले अब अरू देशहरूलाई पनि आकर्षक वस्तु जस्तै बेचिरहेको छ।
कृत्रिम बुद्धिमत्तादेखि निगरानी क्यामेरासम्म, अनलाइन सेन्सरसिपदेखि राजनीतिक प्रशिक्षणसम्म — चीनले निरंकुश शासनलाई सुरक्षित राख्ने सम्पूर्ण प्रविधि अन्य देशहरूलाई निर्यात गर्न थालेको छ। जसले शासक वर्गलाई बलियो बनाउँछ तर नागरिकलाई कमजोर। यसरी चीनले शासकहरूलाई लोकतन्त्रबिनै विकास गर्न सकिन्छ भन्ने भ्रम बेचिरहेको छ। तर कुनै पनि विकास मानिसको स्वतन्त्रता र मर्यादामाथि उभिएको छ भने, त्यो विकास होइन, नियन्त्रणको जालो हो।
चीनमा भित्र पनि स्थिति सुदृढ छैन। अर्थतन्त्रको गति सुस्त हुँदैछ, ठूला उद्योगहरू धरासायी हुँदैछन्, युवाहरू बेरोजगार र निराश छन्। एकपछि अर्को निर्माण विफलताले सन्देश दिएको छ — विकास केवल आँकडामा उभिएको रहेछ भने, साँचो प्रगति होइन। आर्थिक संकट बढ्दै जाँदा चीनले राष्ट्रियता र सैन्य आक्रामकता बढाएर आफ्नो असफलता छोप्न खोजिरहेको देखिन्छ। दक्षिण चीन सागरमा आक्रामकता, जापानलगायत छिमेकीसँगको तनाव त्यही रणनीति हो।
मानवअधिकारका सवालमा चीनको व्यवहार अझै भयावह छ। उइगर मुसलमानहरूलाई शिबिरमा राखेर सांस्कृतिक पहिचान मेटाउने प्रयास, तिब्बतीहरूलाई धार्मिक स्वतन्त्रताबाट बञ्चित गर्ने नीति, र अन्य जातीय समुदायहरूलाई दमन गर्ने शैली — यी सबै चीनको “समावेशी विकास”को वास्तविकता उजागर गर्छन्। जसले विश्वलाई चेतावनी दिन्छ कि चीनको शक्ति बढ्नु भनेको अधिकारहरू घट्नु पनि हो।
चीनको विस्तारवादी सपना अब केवल भू-राजनीतिक होइन, शासन मोडेलको साम्राज्यवाद पनि हो। जसलाई अपनाउने देशहरू आर्थिक ऋणको फन्दामा मात्र होइन, लोकतन्त्र नष्ट हुने अँध्यारो गर्ततर्फ पनि लान्छ। आजको संसारले छान्नुपर्ने विकल्प यही हो — समृद्धिको नाउँमा डर, निगरानी र मौनता रोज्ने कि मानव अधिकार, सम्मान र स्वतन्त्रता। विकासले मानिसलाई दास बनाउने होइन, स्वतन्त्र बनाउने हो। तर चीन त्यो बातोमा छैन।
अन्ततः प्रश्न एक–सामान छ —
चीनको उदय विश्वका लागि अवसर हो कि जोखिम?
उत्तरले मात्र भविष्य होइन, स्वतन्त्रताको मूल्य पनि निर्धारण गर्नेछ।