दुई वर्षपछि तिहारकै रात फर्किए विपिन: लक्ष्मीपूजाको उज्यालोभित्र कञ्चनपुर शोकमा!

तिहारको रौनकले देशभर घर–घर उज्यालो बनाइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मालिकार्जुन टोल भने शोकमा डुबेको छ। दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशीको शव सोमबार लक्ष्मीपूजाकै रातमा घर पुगेपछि गाउँ सुनसान बनेको हो।
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन सन् २०२३ मा हमासको आक्रमणमा परेर बन्धक बनेका थिए। उक्त आक्रमणमा नेपालका १० विद्यार्थीको मृत्यु भएको थियो। इजरायल र हमासबीच युद्धबिरामपछि केही बन्धकहरू सकुशल फर्किए पनि विपिन भने बेपत्ता थिए। करिब दुई वर्षपछि इजरायलले उनको टाउकोमा गोली लागेको अवस्थामा मृत्यु भएको फरेन्सिक रिपोर्टमार्फत पुष्टि गरेको हो। ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’को परीक्षणअनुसार विपिनको मृत्यु टाउकोमा गोली लागेर भएको उल्लेख गरिएको छ।
विपिनको शव सोमबार दिउँसो काठमाडौं ल्याएर नेपाली सेनाको स्काइ ट्रकमार्फत बेलुकी कैलालीको धनगढी विमानस्थल पुर्याइएको थियो। त्यसपछि उनको पार्थिव शरीर घर ल्याइएर राति परिवारलाई हस्तान्तरण गरिएको हो। शव बुझाउन नेपालस्थित इजरायली दूतावासका अधिकारी पनि उपस्थित थिए। आज बिहान महेन्द्रनगरस्थित महाकाली नदी किनारमा उनको अन्त्येष्टि गरिएको छ।
विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले दुई वर्षदेखि उनको सकुशल फर्कने आशा गर्दै इजरायलदेखि अमेरिकासम्म गएर पहल गरेका थिए। तर त्यो प्रयास असफल भयो। पुष्पाले यस वर्ष भाइटीकामा दाजुसँग भेट हुने आशा राखेकी थिइन्। दाजुको निधनको खबर पाउँदा उनले घरमा तिहारका लागि तयार राखिएका सयपत्री फूल अब ओइलियेको छ।
परिवारका सदस्य किशोर जोशीले भने, “लक्ष्मीपूजाको रात विपिनको शव आँगनमा आइपुग्दा गाउँभर सन्नाटा छायो। बहिनी र आमाले दुई वर्षसम्म आशा गरेका सबै सपना एकैपटक भत्किए।”
विपिन जोशीको कथा केवल एउटा परिवारको पीडा होइन, विदेशी रोजगार र अध्ययनका नाममा जोखिमपूर्ण क्षेत्रतिर जान बाध्य नेपाली युवाको यथार्थ पनि हो। कञ्चनपुरको त्यो सुनसान टोलले अहिले देशभरका असंख्य आमाबाबुको मनमा एउटै प्रश्न जगाएको छ -सुरक्षित भविष्यका खोजीमा टाढा गएका सन्तान कहिले घर फर्किन्छन् ?