गृहमन्त्री अर्यालको खुलासा: अन्तर्वार्ता छापिएपछि पूर्वमन्त्री दीपक खड्का नेपाल फर्किए!

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जा मन्त्री दीपक खड्का जेन–जि आन्दोलनपछि भारत गएको र अहिले नेपाल फर्किएको बताएका छन्। सोमबार कञ्चनपुरका विद्यार्थी विपिन जोशीको श्रद्धाञ्जली कार्यक्रममा जाँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले दिएको पहिलेको अभिव्यक्तिलाई त्यसबेलाको वास्तविक अवस्थासँग जोडेर बुझ्न आग्रह गरे।
अर्यालले भने, “मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो सोध्नुस् न?” उनका अनुसार, दीपक खड्काले आफैं भारत गएको कुरा स्वीकार गरेका छन्। “उहाँले भन्नुभएको छ, स्थलमार्गबाट इन्डिया गएको थिएँ। कहिले जानुभएको थियो भन्ने कुरा उहाँलाई नै सोध्नु पर्छ,” उनले थपे। गृहमन्त्रीका अनुसार, आफूले अन्तर्वार्ता दिएको दिन खड्का विदेशमै थिए र समाचार सार्वजनिक भएपछि नेपाल फर्किएका हुन्।
यसअघि गृहमन्त्री अर्यालले जनआन्दोलनपश्चात् केही पूर्वमन्त्री तथा नेताहरू अनुसन्धान सुरु भएपछि देशबाहिर गएको संकेत दिएका थिए, जसपछि कांग्रेस नेता दीपक खड्काले ती अभिव्यक्तिलाई असत्य बताउँदै आफू नेपालमै रहेको स्पष्टिकरण दिएका थिए।
सोही अवसरमा गृहमन्त्री अर्यालले दलहरूले हतियार लुकाएको भन्ने आफ्नो भनाइबारे पनि स्पष्टता दिए। उनले भने, “मैले दलहरूले हतियार राखेका छन् भनेको होइन। कतिपय दलले हतियार सङ्ग्रह गर्ने चाहना राखेका हुनसक्छन् भन्ने सन्दर्भमा बोलेको हुँ।” उनका अनुसार, यदि कुनै पनि राजनीतिक दलसँग यस्ता सामग्री छन् भने तिनीहरूले खुलेर घोषणा गर्नुपर्ने हुन्छ।
अर्यालले मुलुक अब हिंसा होइन, शान्ति र अहिंसाको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता जोड दिए। “अब हतियारको होइन, संवाद र सहकार्यको बाटो अपनाउनुपर्छ,” उनले भने। उनका अनुसार, आगामी निर्वाचनको तयारी र राजनीतिक स्थायित्वका लागि सबै दलहरूबीच पारदर्शिता र आस्थाको वातावरण अपरिहार्य छ।
गृहमन्त्रीले आफ्नो नाममा कांग्रेस नेताबाट गरिएको आरोपबारे भने टिप्पणी गर्न अस्वीकार गर्दै, “म त्यस्तो आरोपको प्रतिक्रिया दिन चाहन्नँ,” भने।
जेन–जि आन्दोलनपछि देशको राजनीतिक र सुरक्षात्मक वातावरणमा उच्च संवेदनशीलता कायम रहेको बेला गृहमन्त्री अर्यालको ताजा स्पष्टीकरणले राजनीतिक संवाद र उत्तरदायित्वको आवश्यकता पुनः सतहमा ल्याएको छ।