पलेशाले पेरिसमा जिते काँस्य, प्रधानमन्त्री ओलीले दिए ६५ लाख नगद!

पलेशाले पेरिसमा जिते काँस्य, प्रधानमन्त्री ओलीले दिए ६५ लाख नगद!

प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्दनलाई ६५ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिने घोषणा गरेका छन्। 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित सम्मान समारोहमा प्रधानमन्त्री ओलीले पलेशालाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन्। सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पलेशाको अद्वितीय उपलब्धिको प्रशंसा गर्दै पुरस्कारमा कुनै पनि प्रकारको कर नलगाइ सम्पूर्ण ६५ लाख रुपैयाँ नगद प्रदान गरिने स्पष्ट पारे। 

पलेशाले पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के-४४ वर्गमा महिला ५७ किलो तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५-८ को अन्तरले पराजित गर्दै काँस्य पदक जितेकी थिइन्। यो जितले पलेशालाई पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनाएको छ, जसले नेपाली खेलकुदको इतिहासमा एउटा नयाँ अध्याय थपेको छ।

सम्मान समारोहमा प्रधानमन्त्री ओलीले पलेशाको उपलब्धिले अपांगता भएका खेलाडीहरूलाई मात्र होइन, सम्पूर्ण नेपाली खेलाडीहरूलाई प्रेरित गरेको बताए। उनले पलेशाको संघर्ष र सफलताको कथा हरेक नेपालीका लागि गर्वको विषय भएको भन्दै भविष्यमा अझ धेरै सफलताहरूको आशा व्यक्त गरे।

उक्त अवसरमा पलेशाका प्रशिक्षक कबिराज नेगी लामा, व्यवस्थापक तथा अन्य सहभागी खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। प्रधानमन्त्री ओलीले समग्र टोलीको प्रयासको प्रशंसा गर्दै भने, "पलेशाको विजयले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नयाँ उचाइमा पुर्‍याएको छ।" कार्यक्रमले पलेशाको मात्र नभई, सम्पूर्ण नेपाली खेलकुद क्षेत्रमा एउटा ऐतिहासिक क्षणको उत्सव मनाएको थियो।

पलेशा गोवर्दन

संम्बधित खबर