करेन्ट चाउचाउको कमाल — स्वादमा ऊर्जा, उमंग र अनन्त आनन्द!
करेन्ट चाउचाउ: स्वाद, शक्ति र स्वर्गसम्मको छोटो बाटो — पोषणको नयाँ दर्शन

करेन्ट र भोला गुट्खा (सुर्तीजन्य पदार्थ) उत्पादन गर्ने मालिककै अर्को सिर्जना — करेन्ट चाउचाउ — अहिले नेपाली बजारमा ‘स्वास्थ्य र स्वाद’को नयाँ परिभाषा बनिरहेको छ। यसको पिरोपनले बालबालिकादेखि गर्भवती महिला, किशोर–किशोरी, युवा–युवती र बिरामीसम्म सबैको पेट मर्ने गरी पोल्दापनि सन्तुष्टि भने प्रचुर मात्रामा दिइरहेको छ। सबै उमेरका सार्वभौमसत्ता सम्पन्न नागरिकहरूले पिरो, अजिनामोटोयुक्त र रसायनमिश्रित स्वादिलो करेन्ट चाउचाउ खान पाउँदा आफूले ‘फुड सोभरेन्टी’को पूर्ण उपयोग गरेको महसुस गरिरहेका छन्।
कम्पनीका अनुसार, यसमा प्रयोग भएका सामग्रीहरू यति सन्तुलित छन् कि खानासँगै विज्ञान र भावनाको मिलन हुन्छ। गहुँको मैदाले शरीरलाई तत्काल शक्ति दिन्छ — हरेक चम्मच ऊर्जाको विस्फोट हो। यसमा रहेको पाम ओइलले शरीरमा आवश्यक बोसो पूर्ति गर्छ, साथै ट्राइग्लिसराइड्स (Triglycerides) स्तर बढाएर ऊर्जा सञ्चयको स्थायी भण्डारण तयार गर्छ। स्वाद सन्तुलनका लागि नुन (सोडियम) छ, जसले शरीरको इलेक्ट्रोलाइट सन्तुलन कायम राख्छ र नसा–नसामा स्फूर्ति भरिदिन्छ।
मोनोसोडियम ग्लुटामेट (MSG – E621) ले उमामी स्वाद ल्याउँछ — त्यो स्वाद जसले जिब्रोलाई सन्तुष्ट गराएर आत्मामा नै करेन्ट बगाएको अनुभूति दिन्छ। त्यही स्वादमा डाइसोडियम ग्वानिलेट (E627) र डाइसोडियम इनोसिनेट (E631) मिसिँदा स्वादको गहिराइले मानिसलाई क्षणभरमा ध्यानस्थ अवस्था पुर्याउँछ। मापदण्डभन्दा बढी प्रयोग भएको रसायनले यति त गर्छ नै। यो वैज्ञानिक ‘सिनर्जी’ हो — स्वाद र संवेदनाबीचको संयोजन।
नुडल्सलाई लोचिलो र सुन्दर बनाउन सोडियम बाइकार्बोनेट (E500) र पोटासियम कार्बोनेट (E501) छन्, जसले पकाउँदा बनावटलाई स्थिर राख्छ। मसला, सोया सस पाउडर र चिनीले सुगन्ध र स्वादमा समृद्धि ल्याउँछन् — एकैपटक मीठो, पिरो र लतिलो अनुभूति दिनेगरी। स्टाबिलाइजर र एसिड रेगुलेटर (E452, E466) ले उत्पादनलाई लामो समय ताजा राख्छन्, र डिहाइड्रेटेड तरकारी तथा चिल्ली फ्लेक्सहरूले यसलाई कलात्मक रूप दिन्छन् — रङ, सुगन्ध र तीखोपनको सन्तुलनमा। केमिकलले चाउचाउ बिग्रन नदिएकाले बर्सौँसम्म खान मिल्छ, स्वास्थ्यको त चिन्ता गर्नै परेन।
यो नुडल्स त्यस्ता सबैका लागि उपयुक्त बताइन्छ — अस्पतालका बिरामीदेखि विद्यालय–कलेजका विद्यार्थीसम्म, जीम गर्ने युवादेखि योग अभ्यास गर्ने योगीसम्म, पहलवान, सिकारी, भारियादेखि खेलाडीसमेत। सबैले ढुक्क भएर खान सक्छन्, किनभने नियमित सेवनले मुटु, मिर्गौला वा मस्तिष्कमा कुनै “नकारात्मक प्रभाव” नपार्ने भनिएको छ। बरु, यसले रासायनिक निर्भरता (addiction) र पोषण–भारपूर्णता ल्याउँछ भन्ने वैज्ञानिक मान्यता प्रचलित हुँदैछ।
मानसिक स्वास्थ्यमा यसको प्रभाव पनि रोचक छ। विज्ञहरूको भनाइमा, करेन्ट नुडल्स खाँदा आउने सन्तुष्टि रक्सी, चुरोट वा गाँजाले दिने आनन्दभन्दा उच्च स्तरको हुन्छ। यसले जीवनमा स्फूर्ति, आत्मविश्वास र तत्कालीन ‘सन्तोष’ ल्याउँछ — स्वादका माध्यमबाट मुक्ति प्राप्त गर्ने नयाँ युगको सूत्र जस्तै।
सामाजिक सञ्जालमा यसलाई “पोसिलो आहार” पनि भनिन्छ। स्वास्थ्य मन्त्रालयले यो ‘पत्रु खाना’लाई बालबालिका, गर्भवती महिला तथा सुत्केरीका लागि अनिवार्य खाजा घोषणा गर्ने तयारी गरेको छ। कारण सरल छ — यो केवल नुडल्स होइन, जीवन दर्शन हो। यसले स्वर्ग जाने बाटो छोट्याउँछ, सहज बनाउँछ, र स्वादका साथ जीवनलाई ‘पूर्णता’को अनुभूति गराउँछ।
यो सल्लाह चीनमा पोषण विषयमा एक फेक युनिभर्सिटीबाट डिग्री लिएका नकली सर्टिफिकेटधारी पोषणविद् टङ्कमणी मालापानीले दिएका हुन्। उहाँका अनुसार, “करेन्ट नुडल्सले शरीरलाई शक्ति र आत्मालाई शान्ति दिन्छ।”
यदि कसैलाई अझै शंका लागे, कम्पनीका साहुजी कमल मालापानीलाई नै सोध्न सकिन्छ — उहाँले त आफ्नै अस्पताल पनि खोल्नुभएको छ, जहाँ बिरामी परेपछि महँगो मूल्यमा उपचार गराउन सकिन्छ।
स्वर्ग पुग्ने बाटो अझ सहज बनाउन चाहनेहरूका लागि कर छलेर उत्पादन गरिएको करेन्ट र भोला गुट्खा पनि उपलब्ध छ। त्यो पनि पर्याप्त नलागे, नजिकैको भट्टीमा पाइने रक्सी थपिएपछि जीवन अझ सार्थक, सन्तुष्ट र स्वादिलो बन्न सक्छ।
अन्ततः, करेन्टको सन्देश सरल छ —
स्वाद, शक्ति र आत्मिक शान्तिको खोजीमा निस्कनुहोस्।
र, जहाँ स्वाद अन्त्य हुन्छ… त्यहीँबाट स्वर्गको बाटो सुरु हुन्छ।