कांग्रेस फुटबाट जोगिने संकेत, 'लेनदेन' बाट निकास खोज्न २:३० बजे पुनः वार्ता हुने
नेपाली कांग्रेसभित्र देखिएको चरम आन्तरिक विवाद र सम्भावित विभाजनको जोखिम टर्ने संकेत देखिएको छ। पार्टीभित्र जारी गतिरोध अन्त्य गर्न र निकास निकाल्नका लागि आज बिहानदेखि बसेको त्रिपक्षीय नेताहरूको बैठकले समस्या समाधानको प्रयास सुरु गरेको छ। विवाद समाधानका लागि भन्दै बसेको उक्त बैठकमा विषय प्रवेश भए पनि निष्कर्षमा नपुगी दिउँसो पुनः बस्ने गरी हालका लागि स्थगित भएको छ।
पार्टीभित्रको एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर महाधिवेशनका गतिविधिहरू जारी राखेको छ भने अर्को पक्षले उक्त विशेष महाधिवेशनलाई स्वीकार गर्न मानिरहेको छैन। यही विवादका बीच पार्टीमा सहमति खोज्नका लागि बिहानदेखि तीनवटै पक्षका नेताहरू संवादमा जुटेका हुन्। प्राप्त विवरण अनुसार, अब आपसी 'लेनदेन' र समझदारीका आधारमा समस्याको हल खोजिने र पार्टीलाई फुटबाट जोगाएर मिलिजुली निकास निकालिने तयारी भएको छ।
वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले दिएको जानकारी अनुसार बिहानको छलफलमा केवल विषय प्रवेश मात्र भएको छ। घिमिरेले भने, “विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौं। उहाँहरुले सुन्नुभयो। एजेन्डागत रूपमा दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको छ।” नेताहरूको भनाइले दुवै पक्ष संवादमार्फत निकास निकाल्न लचिलो बनेको देखिन्छ।
उक्त वार्तामा विशेष महाधिवेशन पक्षबाट नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए। त्यसैगरी, सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण उपस्थित थिए भने डा. शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजालको सहभागिता रहेको थियो। दिउँसो २:३० बजे बस्ने भनिएको बैठकले विवादका मुख्य विषयहरूमा केन्द्रित भई सहमतिको ठोस विन्दु पहिल्याउने अपेक्षा गरिएको छ।
गगन थापा शेरबहादुर देउवा डा शेखर कोइराला