सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट: माधव मरासिनीको पहललाई श्रेय अपहरण गर्ने प्रयास, विवाद चर्कियो

काठमाडौं – अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको महत्त्वपूर्ण पहललाई ओझेलमा पार्ने प्रयासले अमेरिकास्थित नेपाली समुदायमा तीव्र विवाद र असन्तोष निम्त्याएको छ। समाजसेवी तथा सञ्चारकर्मी माधव मरासिनीको नेतृत्वमा यो कदम उठाइएको भए पनि केही समूहहरूले श्रेय अपहरण गर्न खोजेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
नेपाल सरकारले सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णयलाई ऐतिहासिक प्रगति मानिएको छ। मरासिनीले यस कदमलाई विदेशमा रहेका नेपालीको सुविधा र सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण भनेका छन्। उनले यो कार्यालयले राहदानी नवीकरण, कानूनी परामर्श, आप्रवासनसम्बन्धी समस्या समाधान, र नेपाली समुदायको समग्र हितमा ठोस योगदान दिने विश्वास व्यक्त गरेका छन्।
मरासिनीको नेतृत्वमा लामो समयदेखि परराष्ट्र मन्त्रालय र सरकारी निकायहरूसँग समन्वय गर्दै यो कार्यालय स्थापनाको प्रस्ताव अघि सारिएको थियो। आवश्यक अध्ययनका लागि कूटनीतिक कर्मचारी पठाउन गरिएको अनुरोधसमेत मरासिनीको समूहको अथक प्रयासको प्रमाण हो।
तर, यो महत्त्वपूर्ण उपलब्धिलाई मरासिनीको योगदानको उपेक्षा गर्दै केही व्यक्तिहरूले आफ्नै सफलता भएको दाबी गर्न थालेपछि विवाद चर्किएको हो। आलोचकहरूले यसलाई ‘श्रमको श्रेय हत्याउने प्रवृत्ति’ भन्दै आपत्ति जनाएका छन्। “खादामालाको राजनीति गर्ने नेताहरू यस्ता महत्त्वपूर्ण पहलमा मौन बस्छन्। जस लिन गरिएको अतिरञ्जना वास्तविक योगदान गर्नेहरूलाई ओझेलमा पार्ने खालको छ,” एक क्यालिफोर्नियावासी नेपालीले तीव्र प्रतिक्रिया व्यक्त गरे।
क्यालिफोर्नियामा कन्सुलेट कार्यालय स्थापनाको निर्णयलाई नेपाली समुदायले स्वागत गरेको छ। यो कार्यालयले नेपाली नागरिकका प्रशासनिक र कानूनी झन्झट कम गर्दै नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक प्रभावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
मरासिनीले सरकारलाई धन्यवाद दिंदै भनेका छन्, “यो कदम विदेशमा रहेका नेपालीहरूको हितलाई प्राथमिकतामा राख्ने दृष्टिकोणको प्रतिनिधित्व गर्छ। सान फ्रान्सिस्को कन्सुलेटले नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने छ।”
अब, यो कन्सुलेट कार्यालय कति छिटो सञ्चालनमा आउँछ र यसले नेपाली समुदायलाई कसरी सेवा पुर्याउँछ भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ। मरासिनीको नेतृत्वमा गरिएको यो पहलले नेपाली कुटनीतिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।