समाचार

"चीनले किन रोकेको छ नुवाकोट दरबारको पुनर्निर्माण? चौंकाउने खुलासा!"

"चीनले किन रोकेको छ नुवाकोट दरबारको पुनर्निर्माण? चौंकाउने खुलासा!"

 चिनियाँहरूको हस्तक्षेप र दादागिरी नुवाकोट दरबारमा पनि देखिएको छ।

नुवाकोट दरबार, नेपालको ऐतिहासिक, सांस्कृतिक, र पुरातात्विक धरोहरको प्रतीक, पुनर्निर्माणको प्रतीक्षामा छ। २०७२ सालको महाभूकम्पले यो दरबार र यसका आसपासका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई गम्भीर क्षति पुर्‍याएको थियो। पृथ्वीनारायण शाहले एकीकरण अभियानको आधारशिला राखेको यो ऐतिहासिक स्थलको पुनर्निर्माण प्रक्रिया अझै सुरु हुन सकेको छैन।

२०७३ सालमा नेपाल र चीनबीच नुवाकोट दरबार पुनर्निर्माणको लागि सरकारी सम्झौता भएको थियो। तर, विभिन्न बाहानाहरू देखाउँदै चिनियाँ पक्षले ढिलासुस्ती गरेको पाइन्छ। चिनियाँ कम्पनीले जिम्मेवारी पाएको यस परियोजनामा कामदारहरूको पासपोर्ट अनुमति, कोभिड महामारी, र व्यवस्थापकीय कमजोरीका कारण काम अघि बढ्न सकेको छैन।

यस कारण नेपालको ऐतिहासिक र रणनीतिक महत्व बोकेको नुवाकोट दरबारको महत्व गुम्ने खतरा छ। साथै, यस क्षेत्रमा व्यापार र पर्यटनमा परेको असरले नुवाकोटवासी चिन्तित बनेका छन्।

 

नुवाकोटका स्थानीय बासिन्दा नारायण मान डङ्गोलले नेपाल आज सँग कुरा गर्दै, "उक्त क्षेत्रमा बन्ने संरचनाहरू निर्माणमा ढिलाइ भएकोमा दुःख व्यक्त गरेका छन्।" उनले सरोकारवालाहरूले ध्यान नदिएको र आज-आज, भोलि-भोलि भन्दै गर्दा सात-आठ वर्ष ढिलाइ भएको धारणा व्यक्त गरे। स्थानीय सरकारले आफ्नो ठाउँबाट पहल गरिरहेको भए पनि प्रदेश सरकारको ध्यान केन्द्रित नभएको उनले थपे। उनले चिनियाँ र नेपाल सरकारबीच सम्झौता भए पनि यति ढिलाइ हुनुको कारणबारे प्रश्न उठाएका छन्।

सोही ठाउँका बद्री ढुंगानाले परियोजना ढिलाइमा कोभिड महामारीको पनि असर परेको बताएका छन्। साथै, उनले एमसीसी सम्झौताका कारण चिनियाँहरूको लापरबाही भएको आशंका व्यक्त गरे। उनले चिनियाँ सरकारलाई विगतका विवाद बिर्सेर दिगो रूपमा काम गर्न आग्रह गरे भने नेपाल सरकारलाई भविष्यका कार्यहरू छिट्टै अघि बढाउन पहल गर्न सुझाव दिए।

रा.प्र.पा. जिल्ला सह-सदस्य राधिका विश्वकर्माले पर्यटकहरूको आगमनमा कमी आएको कारण आर्थिक घाटा भएको बताइन्। तर, अब बन्ने संरचनाहरूले व्यापार व्यवसाय र पर्यटक आगमनमा वृद्धि हुने अपेक्षाले आफूलाई खुसी बनाएको व्यक्त गरिन्।

स्थानीय बासिन्दा बसन्तलाल डङ्गुरले नुवाकोट दरबार पुनर्निर्माणमा ढिलासुस्तीले स्थानीय उत्पादनहरूको बजारीकरणमा समस्या आएको र आर्थिक पक्ष कमजोर भएकोमा दुःख व्यक्त गरे। उनले अन्य संरचनाहरूको पनि मर्मत आवश्यक रहेको उल्लेख गरे।

विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक कायस्थले पुनर्निर्माणमा भएको ढिलाइप्रति असन्तोष जनाउँदै चिनियाँ कम्पनी र नेपाल सरकार दुवैलाई दोषी ठहर गरे। “काठमाडौं दरबार पुनर्निर्माण समयमा सम्पन्न भएको देख्दा नुवाकोटजस्तो महत्त्वपूर्ण स्थानमा किन यत्रो ढिलाइ भयो भन्ने प्रश्न उठ्छ,” उनले भने।

उनले स्थानीय सरकार र जनताले चिनियाँ कम्पनीलाई निरन्तर दबाब दिइरहेको पनि जानकारी दिए। “चिनियाँ कम्पनीले पाँच वर्षभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म ठोस प्रगति भएको छैन,” उनले थपे।

पुनर्निर्माणमा भएको ढिलाइको कारण स्थानीय स्तरमा विभिन्न आशंका उठेका छन्। जब कायस्थलाई एमसीसी सम्झौताका कारण चीन असन्तुष्ट भएको हो भन्ने प्रश्न गरियो, उनले अनभिज्ञता व्यक्त गरे। यद्यपि, सरकारको चासोको कमी र व्यवस्थापनको कमजोरीले पुनर्निर्माणमा बाधा उत्पन्न गरिरहेको बताए।

पुनर्निर्माणमा ढिलाइ हुँदा नुवाकोटका बासिन्दामा निराशा देखिए पनि, ऐतिहासिक धरोहरलाई पुनःस्थापित गर्ने आशा जीवितै छ। नुवाकोट दरबारको पुनर्निर्माणले न केवल सांस्कृतिक सम्पदाको संरक्षण गर्नेछ, तर यसले स्थानीय पर्यटन र अर्थतन्त्रलाई पनि जीवन्त बनाउनेछ।

नुवाकोट दरबार पुनर्निर्माणले नेपालको ऐतिहासिक धरोहरलाई बचाउनका साथै पर्यटन र आर्थिक क्रियाकलापलाई पनि प्रोत्साहन गर्नेछ। त्यसैले नेपाल सरकार, चिनियाँ सरकार, र परियोजनामा संलग्न कम्पनीहरूले शीघ्र पुनर्निर्माण प्रक्रिया सुरु गर्न ठोस कदम चाल्न आवश्यक छ।

यो ढिलाइले नुवाकोट मात्र होइन, नेपालको ऐतिहासिक महत्व र सांस्कृतिक पहिचानमाथि पनि गम्भीर असर पुर्‍याएको छ। स्थानीय जनताको चासोलाई प्राथमिकतामा राख्दै पुनर्निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यकता छ।

नुवाकोट दरबार चिनियाँहरूको हस्तक्षेप