प्रचण्डको भनाइः “अध्यक्ष भएर बस्न हैन, राष्ट्र बचाउनु नै मेरो मुख्य जिम्मेवारी हो”

नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सत्ताको पदभन्दा बढी देशको अस्तित्व र राजनीतिक स्थायित्वको चिन्ता रहेको बताउनुभएको छ। महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले “अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी हो” भन्दै आफ्नो प्राथमिकता स्पष्ट पार्नुभयो।
प्रचण्डले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने समय आएको बताउँदै “आवश्यक परे म जे–जस्तो त्याग गर्न तयार छु, तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन” भन्नुभयो। उहाँका अनुसार, अहिलेको राजनीतिक परिस्थिति र संक्रमणको अवस्थाले माओवादी केन्द्रमाथि नयाँ जिम्मेवारी र नेतृत्वको अपेक्षा सिर्जना गरेको छ।
कार्यक्रममा सहभागी हुन मधेश पुगेका प्रचण्डले जेन–जि आन्दोलनपछिको राजनीतिक चेत र युवापुस्ताको भूमिकालाई नयाँ युगको संकेतका रूपमा चित्रण गर्नुभयो। उहाँले पहिलोपटक मधेशमा जेन–जि युवाको ठूलो सहभागितासहितको कार्यक्रममा बोल्दै भन्नुभयो, “अब जेन–जि र माओवादी मिलेर चुनाव लड्नुपर्छ। अरू दलहरूले युवाका माग पूरा गर्दैनन्, माओवादी मात्र त्यस्तो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ।”
संयोजक प्रचण्डले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई अनिवार्य राष्ट्रिय प्रक्रिया बताउँदै कुनै अन्योल नराख्न आग्रह गर्नुभयो। “चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो,” उहाँले जोड दिनुभयो।
उहाँले पार्टीका कार्यकर्ता र समर्थकहरूलाई मतदाता नामावली अद्यावधिक गर्न आह्वान गर्दै भने, “हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ — संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेन–जि युवाका माग सम्बोधन र समानुपातिक प्रणालीको सुदृढीकरण।”
सो कार्यक्रममा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने करिब ६ सयभन्दा बढी नयाँ सदस्यलाई प्रचण्डले स्वागत गर्नुभयो। कार्यक्रममा जेन–जि आन्दोलनमा सक्रिय रहेका युवाहरूको पनि उल्लेख्य सहभागिता थियो।
महोत्तरीको मधेस मैदानमा भएको यस भेटघाटले प्रचण्डको हालको राजनीतिक सन्देशलाई केवल पार्टीगत सन्दर्भमा सीमित नराखी, आगामी निर्वाचन र नयाँ पुस्तासँगको राजनीतिक सहकार्यतर्फ केन्द्रित गरेको देखिन्छ-जसले माओवादी आन्दोलनको नयाँ अध्यायको संकेत पनि दिइरहेको छ।