चीनको ढिलाइ, नेपाल सरकारको मौनता: रसुवागढी सडक निर्माण रोकियो!

चीनको ढिलाइ, नेपाल सरकारको मौनता: रसुवागढी सडक निर्माण रोकियो!

रसुवा जिल्ला समन्वय कार्यालय प्रमुख अशोक कुमार घिमिरेले बेत्रावती-स्याफ्रुबेसी सडक खण्डको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गहिरो असन्तोष व्यक्त गरेका छन्। उनले यो महत्त्वपूर्ण सडक मार्गको निर्माण कार्य अपूरो अवस्थामा रहेको र बजेट अभाव तथा ठेकेदारहरूको असक्षमताले काम समयमै सम्पन्न गर्न नसकेको बताए।

सजिलो काम ठेकेदारहरूले समयमै सकिए पनि, अप्ठ्यारो र चुनौतीपूर्ण भागहरू भने जीर्ण अवस्थामा छोडिएको छ  घिमिरेले भने।

उनका अनुसार, बेत्रावतीदेखि पासाङ ल्हामु राजमार्ग हुँदै रसुवागढीसम्मको यात्रा अहिले पनि कठिन छ। बेत्रावती सडक खण्डको जिम्मा पुराना ठेकेदारहरूले लिएका थिए, तर बजेट अभावका कारण कठिन भागहरूको काम रोकिएको छ।

स्याफ्रुबेसीदेखि रसुवागढी जाने सडक खण्डमा पनि त्यस्तै समस्या रहेको छ। उपभोक्ताले आफ्नो जग्गा छोड्न नसक्दा र चिनियाँ पक्षले समयमा निर्माण कार्य नगरेपछि काम ठप्प भएको उनले बताए। वर्षौं पहिले शिलान्यास गरिएको यो सडक अब पुनर्निमाणमा  जानेछ भन्ने आशा छ, घिमिरेले भने। भौतिक मन्त्रालयका अनुसार, उक्त सडक खण्डको निर्माण कार्य जनवरीदेखि पुनः सुरु गर्ने योजना छ।

बजेट अभाव र सरकारी ढिलाइले निर्माण कार्य प्रभावित
घिमिरेका अनुसार, सरकारी बजेटको ढिलाइले छिटो सकिन सक्ने कामलाई वर्षौंसम्म लम्ब्याएको छ। छ महिनादेखि १ वर्षमा सकिने काम ७ वर्षसम्म पुरा हुन सकेको छैन, उनले थपे।

२०७२ सालको भूकम्पपछि धुन्चेस्थित सवा हल निर्माणको काम पनि अहिले बल्ल सम्पन्न हुने चरणमा पुगेको उनले बताए। मेरो टोली निर्वाचित भएपछि यो काम अघि बढिरहेको छ। अब हामी आत्मनिर्भर भएका छौं र कुनै पनि निकायसँगको समन्वयमा अवरोध आएको छैन, घिमिरेले भने।

हाइड्रोपावरको असर र पुनर्निर्माणको चुनौती
घिमिरेले हाइड्रोपावर आयोजनाले सडक क्षेत्रमा सकारात्मक भूमिका खेलेको भए पनि, यसको वातावरणीय असर कम गर्न अनुसन्धान आवश्यक रहेको बताए। हाइड्रोपावरले विभिन्न सेवा र सुविधाहरू उपलब्ध गराएको छ, तर यसको प्रभावलाई व्यवस्थित गर्न अझै धेरै काम गर्नुपर्छ, उनले भने।

घिमिरेले बेत्रावती-रसुवागढी सडक खण्डलाई समयमै पूरा गर्न ठोस योजना बनाउन र बजेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे। अब पुनर्निर्माण कार्य अघि बढ्नेमा हामी आशावादी छौं, तर यसलाई समयमै सम्पन्न गर्न सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेछ,उनले निष्कर्षमा भने।

 


 

संम्बधित खबर