दोलखाको लप्ची गुम्बाबाट फर्कँदै बाटोमै अलपत्र परेका चार विदेशी पर्यटकको संयुक्त उद्धार

दोलखा जिल्लाको बिगु गाउँपालिका–१ लप्ची गुम्बामा ध्यान तथा भ्रमणका लागि गएका चार जना विदेशी पर्यटकको सफलतापूर्वक उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले असोज २३ गते बिहान करिब १० बजे उनीहरूलाई उद्धार गरी काठमाडौं पठाएको जिल्ला प्रशासन स्रोतले जनाएको छ।
उद्धार गरिएका पर्यटकमध्ये दुई जना रसियाली र दुई जना स्विस नागरिक रहेको पुष्टि भएको छ। उनीहरू असोज २१ गते गुम्बाबाट काठमाडौं फर्कने क्रममा दोलखाको लामाबगर क्षेत्रमा पर्ने लप्ची सडकको कच्ची भागमा सुख्खा पहिरो जाँदा बाटो अवरुद्ध भएपछि बीच बाटोमै अलपत्र परेका थिए।
स्थानीय प्रशासनका अनुसार, उनीहरू बाटो बन्द भएपछि नजिकैको नासा हाइड्रोपावरको परिसरमा दुई दिन बस्न बाध्य भएका थिए। त्यसपछि बिगु गाउँपालिकाले स्थानीय सुरक्षाकर्मी र प्रहरी निकायलाई सूचना दिएपछि उद्धार टोली खटाइएको थियो।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट लामाबगरबाट खटिएको टोलीले उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। उद्धारपछि पर्यटकहरूलाई आवश्यक सहयोग र प्राथमिक उपचारको व्यवस्था गर्दै काठमाडौं पठाइएको थियो।
दोलखा हिमाली भूगोल र कठिन बाटोका कारण पर्यटकहरूका लागि जोखिमयुक्त क्षेत्र मानिन्छ। स्थानीय प्रशासनले यस्ता ट्रेकिङ तथा ध्यान यात्राका क्रममा मौसमी जोखिमबारे अग्रिम जानकारी लिन र आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गर्न सुझाव दिएको छ।